Technology Khabar २१ कार्तिक २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । चीनले छैटौं पुस्ताको दूरसंचार प्रविधि सिक्स जीको औपचारिक अनुसन्धान शुरु गरेको छ ।
नयाँ अनुसन्धानले आगामी दिनमा पछिल्लो वायरलेस आविश्कारलाई प्रबद्र्धन गर्ने उद्धेश्य लिएको चिनियाँ सरकारी मिडियाले बताएको छ ।
चीनको मन्त्रालय तथा अनुसन्धान संस्थाहरुले राष्ट्रियस्तरमा ६जी टेक्नोलोजी रिसर्च एण्ड डेभलपमेन्ट ग्रुप बनाउन छलफल गरेका थिए ।
सो छलफलमा एकेडेमिया, अनुसन्धान संस्थाहरु, व्यवसायहरुलगायत ३७ जना वैज्ञानिकहरु तथा प्रविधि विज्ञहरु सहभागी छन् । उनीहरुले ६जीको अनुसन्धान र विकासका साथसाथै सरकारी नीतिहरुलगायतमा पनि सुझाव र सल्लाह दिनेछन् ।
अल्ट्रा फास्ट मोबाइल सर्भिसहरुमा सम्बद्ध नयाँ टेक्नोलोजीहरु पछिल्ला दिनहरुमा अमेरिका र चीनबिचको महत्वपूर्ण विवादको विषय हुँदै आएको छ ।
विश्वभर विभिन्न मुलुकहरु भर्खर मात्रै ५जी नेक्स्ट जेनेरेशन वायरलेस नेटवर्क संचालन गर्न तछाडमछाड गरिरहेका छन् । जुन टेक्नोलोजीले अहिलेको ४जी भन्दा १० गुणा तिब्र गतिमा डाटा ट्रान्सफर गर्न सक्दछ । त्यसैगरि यसले सेल्फ ड्राइभिंग कारहरु र अग्मेन्टेड रियालिटी जस्ता नयाँ प्रविधिलाई पनि सहयोग गर्नेछ ।
गएको अप्रिल महिनामा दक्षिण कोरियाले अमेरिका र चीनलाई पछि पार्दै विश्वको पहिलो ५जी नेटवर्क व्यवसायीकरुपमा संचालन गरेको घोषणा गरेको थियो । तर अमेरिकी टेलिकम कम्पनीहरुले सो दाबीलाई खारेज गरेका थिए ।
चीनले देशका प्रमुख ३ टेलिकम कम्पनीहरुले ५जी मोबाइल फोन सेवा देशैभर शुरु गरेको भोलिपल्ट नै ६जी टेक्नोलोजी अनुसन्धान शुरु गरेको हो ।
यसअघि चीनले आगामी वर्ष मात्र ५जी लन्च गर्ने बताउँदै आएको भएपनि अमेरिकासँगको बढ्दो बिबादका कारण चीनले त्यसलाई तिब्रगतिमा बढाएको थियो ।
सिक्सजीमा अनुसन्धान गर्ने चीन मात्र छैन्, यसअघि फिनिस सरकार गत वर्ष नै ‘सिक्स जेनेसिस’ प्रोग्राम शुरु गरेको थियो ।
केहि विज्ञहरुका अनुसार ६जी ठोस रुपमा देखिनको लागि पनि अझै करिब १० वर्ष लाग्नेछ । एजेन्सी
प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार