
काठमाडौं ।
काठमाडौं । अमेरिकी फेडरल कम्यूनिकेसन्स कमिसन(एफसिसि)ले दुई टेलिकम कम्पनीहरुबिचको मर्जरलाई स्वीकृत गरेको छ । एफसिसिले टेलिकम कम्पनी टी-मोबाइल र स्प्रीन्टको मर्जरलाई स्वीकृत गरेको हो ।
टी मोबाइल यूएस इंक र स्प्रीन्ट कर्प बिच २६.५ बिलियन डलरको मर्जर सहमति भएको थियो ।
एफसिसिले यो मर्जर डिलले देशभित्र डिजिटल डिभाइड बन्द हुने र अमेरिकामा ५जी लाई अगाडि बढाउन सहयोगी हुने विश्वास लिएको छ ।
टी मोबाइल र स्प्रीन्टले ५जी सेवाहरु जडान गर्न प्रतिबद्धता जनाएका थिए, जसअन्तरगत आगामी ३ वर्षभित्र अमेरिकाको ९७ प्रतिशतलाई ओगट्नेछ ।
त्यसैगरि कम्पनीहरुले आगामी ६ वर्षभित्र ९० प्रतिशत अमेरिकीहरुलाई कम्तिमा १०० एमबीपिएसको स्पीडमा मोबाइल सर्भिसमा पहुँच पुर्याउने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
एफसिसिले भने दुबै कम्पनीहरुको सोहि प्रतिबद्धतालाई शर्त मानेर यो मर्जरलाई स्वीकृत गरेको छ । यदि दुबै पक्षले सो शर्त पुरा गर्न नसकेको र लक्ष्य हासिल गर्न नसकेमा २ बिलियन डलरभन्दा बढि जरिवाना तिर्नुपर्ने समेत स्वीकृतिमा राखिएको छ ।
एफसिसिकाअनुसार यो मर्जरले प्रतिस्पर्धालाई असर नपर्ने भनेर सरकारी महान्यायाधिवक्ताले भनेको र एफसिसिका अधिकारीहरुले समेत बताएका छन् । तर केहि अधिकारीहरुले भने यसले अमेरिकीहरुलाई ५जीमा पहुँच पुर्याउन सहयोग गरेपछि भविश्यमा उच्च मूल्य र थोरै सेवाको छनौट हुने भिन्न मत राखेका छन् ।
दुबै कम्पनीहरुले एक वर्षदेखि मर्जरको लागि सरकारी निकायहरुबाट अनुमति कुरीरहेका थिए ।
दुई कम्पनीहरुबिच सो मर्जर भएपनि स्प्रीन्टले आफ्नो बुस्ट मोबाइल ब्राण्ड र टी-मोबाइलले आफ्नो डिस नेटवर्कलाई बेच्नुपर्ने हुन्छ । एजेन्सी
प्रकाशित: २० कार्तिक २०७६, बुधबार