
काठमाडौं ।
काठमाडौं । काठमाडौं उपत्यकाको ट्याक्सी सेवा व्यवस्थित र मर्यादित बनाउन ‘यात्रु’ले अनलाइन ट्याक्सी सेवा शुरू गरेको छ । फोन, एसएमएस र मोबाइल एपको माध्यमबाट ट्याक्सी बोलाउन मिल्नेगरी यात्रुले सेवा दिन लागेको हो ।
गएको मंगलवारदेखि उपत्यकामा परीक्षणका रूपमा फोन र एसएमएसको माध्यमबाट उक्त सेवा शुरू गरिएको कम्पनीले बताएको छ ।
त्यसको १ महीनाभित्र मोबाइल एपबाट समेत सेवा सञ्चालन गर्ने उसको तयारी छ । हालसम्म कम्पनीमा उपत्यकाका १ हजारभन्दा बढी ट्याक्सी व्यवसायीरचालक आबद्ध भइसकेका छन् । आगामी २ महीनाभित्र उपत्यकाका २ हजारभन्दा बढी ट्याक्सी व्यवसायीलाई आबद्ध गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीमा अनिल चौधरी, सुजन चौधरी र राजीव बम्जन संस्थापकका रूपमा छन् । तीनैजना म्यानेजमेन्टका विद्यार्थी हुन् ।
कम्पनीले ‘यात्रु’ मा आबद्ध हुने ट्याक्सी चालकलाई आफ्नो साझेदारका रूपमा राख्ने योजना बनाएको छ । यात्रुमा आबद्ध हुनुअगावै कम्पनीले ट्याक्सी चालकलाई प्राविधिक लगायत विषयमा तालीम दिनेछ । उक्त तालीममा उनीहरूलाई ग्राहकसँग गर्ने व्यवहार र पिकअप तथा ड्रप गर्ने तरीका सिकाइनेछ ।
काठमाडौंको सार्वजनिक यातायात व्यवस्थित बनाउन यो सेवा शुरू गरिएको कम्पनीका संस्थापक अनिल चौधरीले बताए । ट्याक्सी सेवा चुस्त बनाउँदै यात्रुलाई सहज सुविधा दिन लागिएको उनको भनाइ छ । यात्रुमा तत्काललाई मोबाइल एपको सुविधा भने हुनेछैन ।
सञ्चालनमा ल्याउन लागिएको एप अहिले परीक्षणकै क्रममा रहेको चौधरीले बताए । ‘यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘स्तरीय सेवा दिन प्रतिबद्ध छौं ।’
स्टार्टअप कम्पनी खोल्न सजिलो भए पनि त्यसको दिगो सञ्चालन चुनौतीपूर्ण हुने संस्थापक चौधरीको बुझाइ छ । यद्यपि चुनौतीकै बीच सफलता पाइने सोचसहित यो व्यवसाय शुरू गरिएको उनले बताए ।
विश्वमा नयाँ नयाँ स्टार्टअप कम्पनी आइरहँदा आफूहरूले पनि केही नयाँ गर्न यो अवधारणा ल्याएको सञ्चालकहरूको भनाइ छ । पछिल्लो समय विश्वमा अनलाइनको माध्यमबाट व्यवस्थित ट्याक्सी सेवा सञ्चालन भइरहँदा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । नेपालमा ‘यात्रु’सँगै अन्य कम्पनीले पनि अनलाइनमार्फत ट्याक्सी सेवा दिँदै आएका छन् ।
दक्षिण एशियाली देशहरू भारत र बंगलादेशको सार्वजनिक यातायातको क्षेत्रमा समेत विभिन्न स्टार्टअप कम्पनी सञ्चालनमा छन् ।
कसरी गर्छ यात्रुले काम ?
ग्राहकले फोन, एसएमएस र मोबाइल एपको माध्यमबाट ट्याक्सी अर्डर गर्छन् । उक्त तीनमध्ये जुनसुकै माध्यमबाट अर्डर गरे पनि कम्पनीले त्यसको निक्र्योलका लागि सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फोन गर्छ ।
यसरी कम्पनीले ट्याक्सी अर्डर गरेको स्थान र गन्तव्यसम्बन्धी जानकारी लिन्छ । त्यसपछि सेवाबापत लाग्ने शुल्कबारे बताउँछ। ग्राहकले शुल्क बुझेपछि सेवा लिन चाहेमा वा अर्डर गरेको स्थानदेखि १ किलोमिटर आसपास यात्रुको ट्याक्सी भएमा मात्र अर्डर स्वीकृत हुन्छ ।
ग्राहकले भनेको स्थान नजीक ट्याक्सी उपलब्ध नभए अर्डर नलिइने व्यवस्था कम्पनीले गरेको छ । उपत्यकामा जामको समस्याले योभन्दा बढी दूरीको अर्डर लिन नसकिएको कम्पनीले बताएको छ ।
‘अर्डरपछि ट्याक्सी जाममा परे ग्राहकले धेरै समय पर्खनुर्पछ,’ राजीव बम्जनले भने, ‘यो समस्या आउन नदिन उक्त व्यवस्था गरेका हौं।
प्रकाशित: १३ भाद्र २०७६, शुक्रबार