
काठमाडौं ।
काठमाडौं । एनसेलको प्यारेन्ट कम्पनी आजियाटाको आम्दानी सन् २०१९ को दोस्रो चौमासिकमा ठोसरुपमा सुधार हुँदा एनसेलको आम्दानीमा भने समस्या देखिएको छ ।
एनसेलको आम्दानीमा ५.७ प्रतिशतको कमी आएको छ जसमा मोबाइल सेवा शुल्कमा आएको कमीलाई कारक मानिएको छ । यसबाहेक अन्तराष्ट्रिय कलबाट आउने आम्दानीमा पनि १३.७ प्रतिशतको कमी आएको छ ।
एनसेलले गरिरहेको नेटवर्क बिस्तारको कारण नगद प्रवाहमा ४२ प्रतिशतको कमी आएको देखिएको छ । एनसेलको औसत प्रति ग्राहक आम्दानीमा भने वृद्धि भएको देखिएको छ । कम्पनीले सन् २०१९ को पहिलो चौमासिकको रु २७२ प्रति ग्राहक आम्दानीको तुलनामा दोस्रो चौमासिकमा प्रति ग्राहक रु २८६ आम्दानी गरेको छ ।
एनसेलसँग जुनको अन्त्यसम्ममा १ करोड ६५ लाख ९० हजार ग्राहकहरु रहेका छन जसमध्ये १६ लाख ७० हजार ग्राहकहरु भने पछिल्लो तिन महिनामा बढेका हुन् ।
आजियाटाको दोस्रो चौमासिकमा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३.७ प्रतिशतको वृद्धि हुँदै ६.२ मलेशियन रिंगिट भएको छ भने कर भन्दा अगाडिको आम्दानीमा पनि १३.१ प्रतिशतको सुधार भएको छ । त्यस्तै खुद नाफामा १२.२ प्रतिशतको वृद्धि हुँदै २५० मिलियन मलेशियन रिंगिट पुगेको छ ।
एनसेलको आम्दानीमा समस्या देखिएपनि आजियाटाको आम्दानी वृद्धि हुनुमा मलेशियाको सेलकम र नेपालको एनसेलको आम्दानीमा भएको वृद्धि देखिएको छ । त्यसैगरि अन्य कम्पनीहरु रोबी, ईडोट्को र स्मार्टले गर्दा कर अगाडिको आम्दानीमा दोहोरो अंकको वृद्धि भएको छ ।
पहिलो अर्थ वार्षिकको परिणाम राम्रो रहेको हुँदा कम्पनीले यो वर्ष आफ्नो कर भन्दा अगाडिको आम्दानी लक्ष्य हासिल गर्ने अपेक्षा गरेको छ । कम्पनीले ५ देखि ८ प्रतिशतको वृद्धि अनुमान गरेको थियो । आजियाटाको आम्दानी वृद्धि भने अझैपनि ३ देखि ४ प्रतिशत हुने कम्पनीले अनुमान गरेको छ ।
आजियाटाले आफ्ना शेयरधनीहरुलाई ५ सेन प्रति शेयर चालु आथिर्क वर्षमा दिने प्रस्ताव गरेको थियो ।
आजियाटाअन्तरगतको सेलकमको आम्दानी भने ४.१ प्रतिशतले कमी भएको छ तर करयोग्य आम्दानी भने ४.७ प्रतिशतले वृद्धि भएको देखिएको छ । आजियाटाका अनुसार सेलकमले नाफामूलक क्षेत्रहरुमा लगानी बिस्तार गरिरहेको हुँदा कम्पनीले डाटा आम्दानीमा वृद्धि गर्न सफल भएको छ जसअनुसार कम्पनीले सो अवधिमा औसत प्रति ग्राहक आम्दनी एक मलेसियन रिंगिटले बढाएको छ ।
क्याम्बोडियाको स्मार्टले भने दोहोरो अंकको आम्दानी हासिल गरेको छ । कम्पनीले दोस्रो क्वाटरमा १२.३ प्रतिशतको वृद्धि हासिल गरेकोछ । त्यस्तै बंगलादेशको रोबी यो अवधिमा नाफा हासिल गर्न सफल भएको छ भने नगद प्रवाह पनि सकारात्मक रहेको छ । कम्पनीलाई एयरटेलसँग गाभेपछि कम्पनीले ११.३ प्रतिशतको आम्दानी वृद्धि गरेको छ। जसमा डाटाको वृद्धि ३०.४ प्रतिशत रहेको छ ।
आजियाटाको पूर्वाधार कम्पनी ईडोटकोको आम्दानी पनि २०.९ प्रतिशतले वृद्धि हुँदै ८७५ मिलियन मलेसियन रिंगिट पुगेको छ । टावर निर्माण कम्पनीको करयोग्य मुनाफामा २९.४ प्रतिशतले वृद्धि भएकोछ । एजेन्सीका साथमा
प्रकाशित: १३ भाद्र २०७६, शुक्रबार