प्रमुख स्मार्टफोन कम्पनीहरूले घटाए आफ्ना ढुवानी लक्ष्य, मेमोरी र अन्य पाटपुर्जाहरूको बढ्दो लागतको असर
काठमाडौं ।
मेमोरी र अन्य विभिन्न सामग्रीहरूको मूल्य बढेका कारण पछिल्ला केही महिनायता स्मार्टफोन उत्पादन लागत ह्वात्तै बढेको छ। स्मार्टफोन कम्पनीहरूले आगामी वर्षका लागि आफ्नो ‘सिपमेन्ट’ लक्ष्य पनि घटाएका छन्। स्मार्टफोनको बढ्दो लागतले बजारमा यसको मागमा ठूलो असर पार्न सक्छ।
एक मिडिया रिपोर्टका अनुसार, अधिकांश प्रमुख स्मार्टफोन निर्माताहरूले आगामी वर्षका लागि आफ्नो सिपमेन्ट लक्ष्य घटाएका छन्क त कसैले सामान्य हेरफेर गरेका छन् भने कसैले ठूलो कटौती गरेका छन्। मेमोरी सामग्रीको अभावले स्मार्टफोन उद्योगका लागि थप चुनौती खडा गरेको छ; यसले मेमोरीको मूल्य बढाएको छ र कम्पनीहरूलाई आफ्ना विद्यमान उत्पादनहरूमा थप मूल्य वा विशेषताहरू थप्न कठिन बनाएको छ।
प्रिमियम स्मार्टफोन बजारमा ठूलो हिस्सा ओगटेका एप्पल र सामसङ दुवैले आगामी वर्षका लागि आफ्नो सिपमेन्ट लक्ष्यमा सामान्य कटौती गरेका छन्। एप्पलले हालको चक्रमा रहेको करिब २३ करोड ३० लाख युनिटको लक्ष्यलाई घटाएर करिब २२ करोड युनिटमा झारेको छ। त्यस्तै, सामसङले पनि आफ्नो सिपमेन्ट लक्ष्य ९.५ प्रतिशतले घटाएर २३ करोड २० लाख युनिटबाट २१ करोड युनिटमा पुर्याएको छ।
हालैको एक रिपोर्ट अनुसार, सामसङ ग्यालेक्सी एस २७ सिरिजको मूल्य बढ्न सक्छ; यसको मुख्य कारण मेमोरी सामग्रीको बढ्दो लागतलाई मानिएको छ। यस वर्ष मेमोरी सामग्रीको लागत दोब्बरभन्दा बढी भएको छ भने चिपसेटको मूल्यमा पनि वृद्धि भएको छ।
चिनियाँ स्मार्टफोन निर्माताहरू शाओमी र भिभोले आफ्नो सिपमेन्ट लक्ष्यमा ठूलो कटौती गरेका छन्। साओमीले आफ्नो लक्ष्य २९ प्रतिशतले घटाएर करिब ८ करोड ५० लाख युनिटबाट ६ करोड युनिटमा झारेको छ, जबकि भिभोले आफ्नो लक्ष्य १२ करोड (१२० मिलियन) युनिटबाट घटाएर ९ करोड युनिटमा पुर्याएको छ। ओप्पोले पनि आफ्नो सिपमेन्ट १० करोड ५० लाख युनिटबाट घटाएर ९ करोड युनिटमा झार्ने योजना बनाएको छ। यद्यपि, अनरले भने बजारमा माग बलियो रहने अपेक्षा गर्दै आफ्नो सिपमेन्ट लक्ष्य ५ करोड युनिटमै यथावत राखेको छ।
स्मार्टफोन कम्पनीहरू चिपसेटको अभावका कारण पनि कठिनाइको सामना गरिरहेका छन्।