एप्पलविरुद्ध भारतमा पेटेन्ट अधिकारको मुद्दा दायर, १५ अर्ब भारतीय रुपैयाँ क्षतिपूर्ति माग
काठमाडौं ।
अमेरिकी उपकरण निर्माता कम्पनी एप्पलले उपलब्ध गराएको ‘नेमड्रप’ फिचरलाई लिएर भारतमा मुद्दा दायर गरिएको छ। यो फिचरले आईफोन प्रयोगकर्ताहरूलाई सजिलैसँग सम्पर्क विवरण आदानप्रदान गर्न अनुमति दिन्छ। यो मुद्दा अमेरिकी स्टार्टअप कम्पनी ‘जीजी टेक्नोलोजीज’ (GG Technologies) द्वारा बम्बे उच्च अदालतमा दायर गरिएको हो।
मिडिया रिपोर्टहरूका अनुसार, जीजी टेक्नोलोजीजले एप्पलको ‘नेमड्रप (NameDrop)’ फिचरले आफ्नो पेटेन्ट गरिएको प्रविधिमाथि अतिक्रमण गरेको आरोप लगाएको छ। वादी कम्पनीले १५ अर्ब भारतीय रुपैयाँ (करिब १६ करोड १८ लाख अमेरिकी डलर) बराबरको क्षतिपूर्तिको माग गरेको छ। यसका साथै, कम्पनीले अदालतसँग उक्त पेटेन्टको उल्लंघन गर्ने एप्पलका डिभाइसहरूलाई भारतमा आयात र बिक्री गर्न रोक लगाउने आदेश जारी गर्न अनुरोध गरेको छ। भारत एप्पलका लागि एक महत्त्वपूर्ण बजार हो र विश्वभर बिक्री हुने आईफोनहरूको ठूलो हिस्सा भारतमै एसेम्बल गरिन्छ।
एप्पलका लागि, चीन बाहिर भारत एक प्रमुख उत्पादन केन्द्रको रूपमा रहेको छ। सन् २०१९ मा, जीजी टेक्नोलोजीजले ‘स्टे-टच’ (StayTouch) नामक एप सार्वजनिक गरेको थियो, जसले प्रयोगकर्ताहरूलाई आफ्ना फोनहरू नजिक ल्याएर सम्पर्क विवरणहरू आदानप्रदान गर्न सघाउँछ। जी जी टेक्नोलोजीजले यस प्रविधिका लागि संयुक्त राज्य अमेरिकामा पेटेन्ट आवेदन पनि दर्ता गराएको थियो। कम्पनीले ‘स्टे-टच’ लाई ‘बिजनेस कार्ड’ आदानप्रदान गर्ने टूलको रूपमा व्याख्या गरेको छ; यो एप एन्ड्रोइड र आईओएस दुवै प्रकारका डिभाइसहरूमा उपलब्ध छ।
स्मरणरहोस्, एप्पलले तीन वर्षअघि आईफोनहरूका लागि ‘नेमड्रप’ फिचर ल्याएको थियो।
यस वर्षको अप्रिल महिनामा, यही विवादलाई लिएर संयुक्त राज्य अमेरिकामा पनि एप्पलविरुद्ध कानुनी मुद्दा दायर गरिएको थियो। त्यसपछि, अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले कथित पेटेन्ट उल्लंघनको विषयमा अनुसन्धान सुरु गर्यो।