यस्तो छ एआई विकासको गति सीमित गर्ने उपायबारे ओपनएआईका प्रमुख वैज्ञानिकको प्रस्ताव
काठमाडौं ।
ओपनएआईका प्रमुख वैज्ञानिक याकुब पाचोस्कीले कृत्रिम बुद्धिमताको विकासलाई कसरी सीमित गर्न सकिन्छ भन्ने विषयमा नयाँ ब्लग लेखमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले यसका लागि ‘पर्प्लेक्सिटी’ नामक मापन विधिमा जोड दिएका छन्।
कृत्रिम बुद्धिमताको विकासको गति कम गर्ने विषय पछिल्लो समय चर्चामा छ। ओपनएआई र एन्थ्रोपिकमा काम गरिसकेका एक पूर्व अनुसन्धानकर्ताले यी कम्पनीले ‘हाम्रो जीवनसँग जुवा खेलिरहेको’ आरोप लगाएपछि यो विषय थप चर्चामा आएको थियो। एन्थ्रोपिकले सार्वजनिक गरेको आईपीओसम्बन्धी विवरणपत्रमा समेत यो प्रविधिले समाजका लागि ‘विनाशकारी वा अस्तित्व नै संकटमा पार्ने जोखिम’ निम्त्याउन सक्ने उल्लेख गरेको थियो।
त्यसपछि एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले कृत्रिम बुद्धिमताको विकासलाई नियन्त्रणमा राख्दै अगाडि बढाउने योजना सार्वजनिक गरेका थिए। ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले पनि त्यसलाई समर्थन गरेको देखिएको थियो। अमोडेईले अन्य विषयसँगै कम्पनीहरूबीच ‘साझा सुरक्षा मापदण्ड’ र ‘नियन्त्रणबाहिरको कृत्रिम बुद्धिमता विकासको गति सीमित गर्ने’ सहमति हुनुपर्ने प्रस्ताव गरेका थिए।
तर कृत्रिम बुद्धिमताको विकासको गति सीमित गर्न त्यसको गति मापन गर्ने साझा आधार आवश्यक हुन्छ। अल्टम्यानले पाचोस्कीको ब्लग लेखलाई ‘केही समययता ओपनएआईले प्रकाशित गरेको सबैभन्दा महत्त्वपूर्ण सामग्री’ भनेका छन्। उक्त लेखमा पर्प्लेक्सिटीलाई कृत्रिम बुद्धिमताको विकास मापन गर्ने आधार बनाउन सकिने प्रस्ताव गरिएको छ। यहाँ पर्प्लेक्सिटी भन्नाले यही नामको कम्पनीलाई नभई कृत्रिम बुद्धिमता मोडलको कार्यक्षमता मापन गर्ने विधिलाई जनाइएको हो।
पाचोस्कीका अनुसार कृत्रिम बुद्धिमताको पछिल्लो क्षमतामा आधारित परीक्षणहरू प्रविधिको विकाससँगै छिट्टै पुराना हुँदै गएका छन्। तर पर्प्लेक्सिटी भने अझै पनि उपयोगी मापन विधि रहेको उनको भनाइ छ। यसले कुनै मोडलले औसतमा अर्को टोकन (शब्द वा शब्दको अंश) कति राम्रोसँग अनुमान गर्न सक्छ भन्ने मापन गर्छ। पर्प्लेक्सिटी कम हुनु भनेको अनुमान गर्ने क्षमता राम्रो हुनु हो।
पाचोस्कीको लेखमा जीपीटी–३.५ देखि ओपनएआईका पछिल्ला मोडलहरूको पर्प्लेक्सिटी कसरी घट्दै गएको छ भन्ने देखाउने चित्र पनि समावेश छ।
‘करिब ०.९१ पर्प्लेक्सिटी रहेको जीपीटी–४ ले चेन अफ थट (विचारको क्रमबद्ध प्रक्रिया) प्रयोग गरेर प्रभावकारी रूपमा तर्क गर्न सक्थ्यो। यसले यो क्षमतालाई लक्षित रूपमा विकास गर्ने र आधुनिक तर्क गर्ने मोडलहरू निर्माण गर्ने बाटो खोल्यो,’ उनले लेखेका छन्। ‘अहिले पर्प्लेक्सिटी ०.८ भन्दा तल झरेपछि साइबर सुरक्षा र गणितजस्ता क्षेत्रमा रूपान्तरणकारी क्षमताहरू देखिन थालेका छन्।’
उनका अनुसार पर्प्लेक्सिटीलाई ‘सामान्य बुद्धिमताको साझा मापदण्ड’ बनाउन सकिन्छ। त्यसपछि कृत्रिम बुद्धिमता कम्पनीहरूले यही मापनका आधारमा विकासको साझा सीमा निर्धारण गर्न सक्नेछन्।
पर्प्लेक्सिटीलाई कृत्रिम बुद्धिमताको प्रगति मापन गर्ने साझा आधार बनाएर कम्पनीहरूले निश्चित सीमाभन्दा अगाडि विकास नगर्ने प्रतिबद्धता जनाउन सक्ने उनको प्रस्ताव छ। तर त्यसका लागि पहिले कृत्रिम बुद्धिमताको व्यवहार बुझ्ने र निगरानी गर्ने क्षमता निश्चित ठोस स्तरमा पुग्नुपर्नेछ।