प्रविधि

बेलायतको राष्ट्रिय पूर्वाधारलाई साइबर तथा अन्य जोखिमबाट सुरक्षित बनाउन भोडाफोन नेतृत्वको पहल

बेलायतको राष्ट्रिय पूर्वाधारलाई साइबर तथा अन्य जोखिमबाट सुरक्षित बनाउन भोडाफोन नेतृत्वको पहल
फा्इल तस्बिर
Global IME Bank

बेलायतमा विद्युत्, सञ्चार र डिजिटल प्रणालीमा हुने अवरोधले राष्ट्रिय पूर्वाधार तथा सार्वजनिक सेवामा असर पार्न थालेपछि भोडाफोन बिजनेसले बेलायत सरकारसँग सहकार्य गर्दै राष्ट्रिय पूर्वाधारको सुरक्षा र संकट व्यवस्थापन क्षमता बलियो बनाउने पहल गरेको छ।

भोडाफोनले बेलायतको क्याबिनेट कार्यालयको तर्फबाट रक्षा तथा सुरक्षा कम्पनी सर्कोले सञ्चालन गर्दै आएको यूके रेजिलियन्स एकेडेमी (यूकेआरए) सँग मिलेर नेसनल रेजिलियन्स इन्डस्ट्री लिडर्स फोरम (राष्ट्रिय उत्थानशीलता उद्योग नेतृत्व मञ्च) सुरु गरेको हो।

यस मञ्चमा निजी क्षेत्र, राष्ट्रिय महत्त्वका पूर्वाधार सञ्चालन गर्ने संस्था र सरकारी निकायका नेतृत्वकर्ताहरू सहभागी हुनेछन्। उनीहरूले विभिन्न संस्थामा रहेका साझा जोखिम पहिचान तथा विश्लेषण गर्नुका साथै संकट आउनुअघि नै त्यसको सामना गर्न समन्वयात्मक कार्ययोजना तयार गर्नेछन्।

भोडाफोन र सर्कोसँगै केपीएमजी तथा स्कटिस पावर इनर्जी नेटवर्क्स यस मञ्चका संस्थापक साझेदार रहेका छन्।

भोडाफोन थ्रीका बिजनेस निर्देशक निक ग्लिडनका अनुसार विद्युत्, सञ्चार वा डिजिटल प्रणालीमा हुने अवरोधले राष्ट्रिय महत्त्वका पूर्वाधार, सार्वजनिक सेवा र समग्र अर्थतन्त्रमा छिट्टै प्रभाव पार्न सक्छ।

‘यस्ता चुनौतीको तयारी कुनै एउटा संस्थाले एक्लै गर्न सक्दैन भन्ने हामीले बुझेका छौँ। राष्ट्रिय उत्थानशीलता बलियो बनाउन सबैले मिलेर योजना बनाउने, परीक्षण गर्ने र अनुभवबाट सिक्ने काम आवश्यक छ,’ उनले भने।

उनका अनुसार भोडाफोनले बदलिँदो जलवायु, विद्युत् आपूर्ति र साइबर जोखिमबाट आफ्नो नेटवर्क सुरक्षित राख्न निरन्तर लगानी गरिरहेको छ। कम्पनीले आफ्ना साझेदार, आपूर्तिकर्ता र ग्राहकसँग मिलेर नेटवर्क तथा सेवाको विश्वसनीयता बढाउने काम गरिरहेको पनि उनले बताए।

नयाँ मञ्चमार्फत विभिन्न संस्थाले आफ्ना अनुभव आदानप्रदान गर्ने, साझा जोखिम बुझ्ने र सरकार तथा निजी क्षेत्रसँग मिलेर व्यावहारिक समाधान अघि बढाउने अपेक्षा गरिएको छ।

भोडाफोनका अनुसार यस मञ्चले साइबर आक्रमण, हाइब्रिड जोखिम, भूराजनीतिक अस्थिरता र आपूर्ति शृङ्खलामा उत्पन्न हुन सक्ने अवरोधजस्ता एकअर्कासँग जोडिएका चुनौतीलाई प्राथमिकतामा राख्नेछ।

यो पहल बेलायतको हाउस अफ लर्ड्सले विभिन्न सम्भावित राष्ट्रिय संकटको सामना गर्न सरकार पर्याप्त रूपमा तयार नरहेको भन्दै आलोचना गरेको प्रतिवेदन सार्वजनिक गरेको केही दिनपछि आएको हो।

टेलिकम्स डटकमका अनुसार प्रतिवेदनमा बेलायतका विद्यमान राष्ट्रिय संकट व्यवस्थापन योजनाहरू पुराना भइसकेको उल्लेख गरिएको छ। ती योजनाले विद्युत् आपूर्ति बन्द हुने, पानीको वितरण अवरुद्ध हुने, साइबर आक्रमण, जैविक तथा रासायनिक जोखिम वा पूर्वाधार ध्वस्त हुनेजस्ता छुट्टाछुट्टै संकटलाई सम्बोधन गरे पनि एकैपटक धेरै संकट उत्पन्न हुने वा एउटा संकटले अर्को संकट निम्त्याउने अवस्थालाई पर्याप्त रूपमा सम्बोधन नगरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले सरकारी तथा सामाजिक प्रणालीबीचको अलगाव अन्त्य गरी सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको औँल्याएको छ। संकट आएपछि प्रतिक्रिया दिने र त्यसबाट पुनः सामान्य अवस्थामा फर्कने तयारीमा मात्र सीमित नभई संकट आउनुअघि नै योजना तथा पूर्वतयारीमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ।

‘रोकथाम उपचारभन्दा राम्रो र सस्तो हुन्छ। आपूर्ति शृङ्खला एकअर्कासँग जोडिएका प्रणालीमा निर्भर हुन्छ। यसको एउटा हिस्सामा अवरोध आएमा अन्य क्षेत्रमा पनि छिट्टै असर पर्न सक्छ,’ प्रतिवेदनमा भनिएको छ।

यूके रेजिलियन्स एकेडेमीकी प्रमुख कार्यकारी अधिकृत रोजहाना चौधरीले राष्ट्रिय अर्थतन्त्र र समाजलाई सञ्चालन गर्ने संस्थाहरू एकअर्कासँग गहिरो रूपमा जोडिएको भए पनि संकट व्यवस्थापनको तयारी र अभ्यास प्रायः छुट्टाछुट्टै हुने गरेको बताइन्।

‘संकटले कुनै संस्थाको सीमाना हेर्दैन। त्यसैले हाम्रो प्रतिक्रिया पनि संस्थागत सीमाभित्र सीमित हुनु हुँदैन,’ उनले भनिन्।

उनका अनुसार नयाँ मञ्चले जोखिमबारे जानकारी आदानप्रदान गर्ने चरणबाट अघि बढेर व्यावहारिक काममा ध्यान दिनेछ। विभिन्न संस्थाले एकअर्कासँग कसरी सहकार्य गर्छन् भन्ने परीक्षण गर्ने, साझा जोखिमको अध्ययन गर्ने र निर्णय प्रक्रियालाई बलियो बनाउने काम यसअन्तर्गत हुनेछ।

बेलायतको क्याबिनेट कार्यालयकी संसदीय सचिव ब्यारोनेस फियोना ट्वाइक्रसले राष्ट्रिय उत्थानशीलता कुनै एउटा संस्थाको प्रयासबाट मात्र निर्माण हुन नसक्ने बताइन्।

‘यसका लागि हरेक क्षेत्रको नेतृत्व र सक्रिय भूमिका आवश्यक छ। सम्भावित जोखिमको तयारी गर्न यूके रेजिलियन्स एकेडेमीले विभिन्न व्यक्तिलाई सञ्जालमा जोड्ने र विशेषज्ञता आदानप्रदान गर्ने काम गरिरहेको छ,’ उनले भनिन्।

उनले राष्ट्रिय आर्थिक सुरक्षा बलियो बनाउन र समग्र समाजलाई सम्भावित संकटको सामना गर्न तयार पार्न निजी क्षेत्र तथा स्वयंसेवी संस्थाहरूबीच सहकार्य गर्ने यो पहलको स्वागत गरेकी छन्।

यसैबीच, साइबर आक्रमणका घटनामा कृत्रिम बुद्धिमतामा आधारित स्वचालित एजेन्टको प्रयोग बढिरहेको अवस्थामा नयाँ मञ्चले यस्ता जोखिमलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। त्यस्तै, दैनिक जीवनका अधिकांश सेवा सफ्टवेयर र क्लाउड प्रणालीमा निर्भर हुँदै गएकाले प्राविधिक त्रुटिबाट उत्पन्न हुने अवरोधलाई पनि राष्ट्रिय जोखिमको रूपमा लिनुपर्ने आवश्यकता औँल्याइएको छ।

पछिल्लो समय यस्ता प्राविधिक समस्याले विभिन्न देशका सेवामा ठूलो अवरोध सिर्जना गरेका छन्। गत साता माइक्रोसफ्टले आफ्नो सेवामा आएको ठूलो अवरोधलाई प्राविधिक समस्याका कारण भएको बताएको थियो। त्यसको एक दिनपछि अमेरिकाको संघीय उड्डयन प्रशासनले पनि प्राविधिक त्रुटिका कारण देशभरका सबै उडान अस्थायी रूपमा रोक्नुपरेको थियो।

त्यसपछि सोमबार जेपी मोर्गन चेज, वेल्स फार्गो र बैंक अफ अमेरिका लगायतका ठूला अमेरिकी बैंकका ग्राहकले केही सेवामा पहुँच गर्न समस्या भएको बताएका थिए। यी समस्याको कारण पनि प्राविधिक त्रुटि नै रहेको जनाइएको थियो।

मंगलबार हजारौँ जीमेल प्रयोगकर्ता तथा एप्पल पे र आईक्लाउडका ग्राहकले पनि सेवा अवरुद्ध भएको समस्या सामना गरेका थिए। एप्पलले आन्तरिक सफ्टवेयर अपडेटमा भएको त्रुटिलाई यसको कारण बताएको थियो भने गुगलले आफ्नो सेवामा आएको अवरोधलाई सीमित घटना भन्दै त्यसको प्रभाव कम रहेको जनाएको थियो।

बेलायतले आफ्नो राष्ट्रिय पूर्वाधारलाई सम्भव भएसम्म सुरक्षित बनाउन प्रयास गरे पनि विश्वका ठूला प्रविधि कम्पनीका सेवा तथा प्रणालीमा निर्भर रहँदासम्म तिनको प्राविधिक क्षमता र विश्वसनीयताले बेलायतको सेवा सुरक्षामा प्रभाव पारिरहने देखिन्छ।

Sajilo Visa
easy care