एप्लिकेसन

एन्ड्रोइडमा आफ्नै सुरक्षित च्याट ब्याकअप सुविधा परिक्षण गर्दै ह्वाट्सएप

एन्ड्रोइडमा आफ्नै सुरक्षित च्याट ब्याकअप सुविधा परिक्षण गर्दै ह्वाट्सएप
Global IME Bank

ह्वाट्सएपले एन्ड्रोइडका केही परीक्षण प्रयोगकर्तालाई आफ्नै क्लाउड स्टोरेजमा कुराकानीको ब्याकअप राख्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ।

डब्ल्यूएबिन्टाइन्फोका अनुसार एन्ड्रोइडका लागि ह्वाट्सएपको परीक्षण भर्सन २.२६.४६.४ मा यो सुविधा देखिएको हो। यो अप्सन उपलब्ध भएका प्रयोगकर्ताले आफ्ना कुराकानीको ब्याकअप राख्न ह्वाट्सएपको क्लाउड स्टोर वा गुगल ड्राइभमध्ये एउटा छनोट गर्न सक्नेछन्।

टेलिग्राफका अनुसार, ह्वाट्सएपले निशुल्क रुपमा २ जीबी स्टोरेज सुविधा उपलब्ध गराउने छ। थप स्टोरेज आवश्यक पर्ने प्रयोगकर्ताले ह्वाट्सएप प्लस सदस्यता लिएर १०० जीबीसम्म स्टोरेज क्षमता प्राप्त गर्न सक्नेछन्। अझ बढी क्षमता चाहिने प्रयोगकर्ताका लागि मेटा वन मार्फत चार टीबीसम्म स्टोरेज सुविधा उपलब्ध गराउन सकिने छ।

तर, सदस्यता सम्बन्धी सर्त पनि राखिएको छ। टेलिग्राफका अनुसार प्रयोगकर्ताले सदस्यता नवीकरण नगरेमा ह्वाट्सएपले चार महिनापछि ब्याकअप प्रतिलाई स्थायी रुपमा मेटाउनेछ। ह्वाट्सएपको क्लाउड स्टोरमा राखिएका ब्याकअप सुरुदेखि अन्त्यसम्म इन्क्रिप्सन हुनेछन्।

तर, एन्ड्रोइडमा गुगल ड्राइभ र आईओएसमा आईक्लाउडमा राखिने ब्याकअपमा यस्तो सुरक्षा सक्रिय हुँदैन। ती सेवामा इन्क्रिप्सन सुविधा प्रयोग गर्ने वा नगर्ने भन्ने अप्सन प्रयोगकर्तासँग हुन्छ।

इन्क्रिप्सनसुविधा प्रयोग गर्न नचाहने प्रयोगकर्ताले भने गुगल ड्राइभ वा आईक्लाउड नै छनोट गर्नुपर्नेछ। किनकि ह्वाट्सएपको क्लाउड स्टोरेजमा राखिने सबै विवरणमा इन्क्रिप्सनअनिवार्य गरिएको छ।

थप सुरक्षाका लागि प्रयोगकर्ताले ब्याकअपलाई पासकी, पासवर्ड वा ६४ अंकको इन्क्रिप्सन की प्रयोग गरेर पनि सुरक्षित राख्न सक्नेछन्। ह्वाट्सएपले गत अप्रिलदेखि एन्ड्रोइडमा यो प्रणालीको परीक्षण सुरु गरेको थियो भने जुलाईमा आईओएस उपकरणमा पनि परीक्षण विस्तार गरेको थियो।

नयाँ परीक्षण चरणमा एन्ड्रोइडका केही प्रयोगकर्तालाई समावेश गरेसँगै यो सुविधा छिट्टै आईओएसका परीक्षण प्रयोगकर्ताका लागि पनि विस्तार हुने अपेक्षा गरिएको छ। त्यसपछि सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइने सम्भावना छ।

Sajilo Visa
easy care