तत्कालीन सीईओ जेन्सन हुआङको बहिर्गमनलगत्तै तेस्रो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्दै एनभिडिया, कस्तो असर पर्ला?
काठमाडौं ।
एनभिडियाका प्रभावशाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले अचानक पद छाडेपछि कम्पनीको त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुनुअघि लगानीकर्ताको ध्यान नाफाको मार्जिन घट्ने र नगद खर्चको चिन्ताबाट हटेर कृत्रिम बुद्धिमता क्षेत्रभर एनभिडियाको प्रभाव कस्तो रहने भन्ने गम्भीर प्रश्नतर्फ केन्द्रित भएको छ।
हुआङले वैवाहिक सम्बन्धबाहिरका सम्बन्धबारे खुलासा भएपछि गत बिहीबार पद छाडेका थिए। तीमध्ये एउटा सम्बन्धमा चिनियाँ जासुस भएको आशंका गरिएकी महिला पनि जोडिएकी थिइन्। यस घटनाले चिप निर्माता कम्पनीलाई संकटमा पारेको छ भने उनले आर्थिक सहयोग गर्दै आएको कृत्रिम बुद्धिमता उद्योगमा पनि ठूलो हलचल पैदा गरेको छ।
एनभिडियाकी वित्त प्रमुख कोलेट क्रेस अहिले अन्तरिम सीईओको जिम्मेवारीमा छिन्। कम्पनीको सञ्चालक समितिले सीईओ पदका लागि उपयुक्त व्यक्ति खोज्ने कम्पनी छनोट गर्ने प्रक्रिया अघि बढिरहेको जनाएको छ।
कम्पनीले मंगलबार बजार बन्द भएपछि तेस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने कार्यक्रम छ।
रोयटर्स नेतृत्वमा संकट आउनुअघिसम्म लगानीकर्ताहरू कम्पनीको बजार मूल्यांकनमा आएको तीव्र गिरावटप्रति चिन्तित थिए। उनीहरूले ऋणमा आधारित कृत्रिम बुद्धिमता क्षेत्रमा भइरहेको खर्च सन् २०२७ सम्म जारी रहन्छ कि रहँदैन र कम्पनीको उच्च नाफा मार्जिन कायम रहन सक्छ कि सक्दैन भन्ने प्रश्न उठाइरहेका थिए।
अब लगानीकर्ताहरूले अन्तरिम सीईओ क्रेसले कम्पनीका प्रभावशाली सीईओको अनुपस्थितिमा पनि एनभिडियाले अत्याधुनिक चिप बजारमा आफ्नो प्रभुत्व कायम राख्न सक्छ कि सक्दैन भन्ने चिन्ता सम्बोधन गर्ने अपेक्षा गरेका छन्। साथै, क्लाउड सेवा प्रदायक, आपूर्तिकर्ता र अनुसन्धान प्रयोगशालालाई नगद तथा वित्तीय प्रत्याभूतिमार्फत सहयोग जारी राख्न सक्ने क्षमताबारे पनि उनीहरूको चासो छ।
मर्निङस्टार रिसर्च सर्भिसेजका प्रविधि क्षेत्रका सेयर विश्लेषक ब्रायन कोलेलोले भने, “वित्तीय नतिजा सामान्य नै हुन सक्छ। तर कम्पनीको बाँकी व्यवसाय र व्यवस्थापनमा भएको परिवर्तनबारे हामीले प्राप्त गर्न सक्ने कुनै पनि आश्वासन सबैभन्दा महत्त्वपूर्ण हुनेछ।”
उनले थपे, “अन्तरिम अवधिमा एनभिडियाले के गर्ने योजना बनाएको छ, ग्राहकसँगको अवस्था कस्तो छ, साझेदारी, वित्तीय पक्ष र सरकारसँगको सम्बन्धबारे कम्पनीले के देखिरहेको छ भन्ने विषयमा प्रारम्भिक जानकारी चाहन्छौँ। हामीले धेरै उत्तर पाउँछौँ कि पाउँदैनौँ भन्ने थाहा छैन। तर कम्तीमा यी विषयमा कम्पनीको धारणा सुन्न चाहन्छौँ।”
हालैसम्म विश्वकै सबैभन्दा मूल्यवान कम्पनी रहेको ४० खर्ब डलरको एनभिडियाले लगातार विश्लेषकहरूको अपेक्षाभन्दा राम्रो वित्तीय नतिजा प्रस्तुत गर्दै आएको छ।
जुलाईमा समाप्त भएको दोस्रो त्रैमासिकमा कम्पनीको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी भएको थियो। कम्पनीको कुल नाफा मार्जिन ७५ प्रतिशत पुगेको थियो भने सेयर पुनः खरिद र लाभांशमार्फत सेयरधनीलाई २६ अर्ब डलर फिर्ता गरेको थियो।
त्यसपछि कम्पनीले तेस्रो त्रैमासिकमा १०८ अर्ब डलर आम्दानी हुने अनुमान सार्वजनिक गरेको थियो, जसमा दुई प्रतिशत घटबढ हुन सक्ने बताइएको थियो। कम्पनीले आगामी वर्ष ७० प्रतिशत आम्दानी वृद्धि हुने र मेमोरी चिपको लागत बढेका कारण कुल नाफा मार्जिन केही घट्ने अनुमान पनि गरेको थियो।
अक्टोबर त्रैमासिकमा कम्पनीको समायोजित प्रतिसेयर नाफा २.४७ डलर हुने अनुमान गरिएको छ। अघिल्लो वर्षको सोही त्रैमासिकमा यो १.३० डलर थियो।
यद्यपि, कम्पनीको सेयर मूल्य अक्टोबरमा उच्च बिन्दुमा पुगेयता एक तिहाइले घटिसकेको छ। आठ महिनाअघि ४० सम्म पुगेको मूल्य–आम्दानी अनुपात अहिले घटेर ११ मा झरेको छ।
एनभिडियाबाट गत साता आफ्नो लगानी हटाएका लन्डनस्थित सम्पत्ति व्यवस्थापन कम्पनी मार्लबरोका इक्विटी पोर्टफोलियो व्यवस्थापक रोरी डोवीले भने, “हुआङले पद छाड्नुअघि नै कम्पनीको मूल्य–आम्दानी अनुपात दबाबमा थियो। बजारले आम्दानी वृद्धिसम्बन्धी अपेक्षाप्रति स्पष्ट रूपमा शंका गरिरहेको छ।”
उनले थपे, “हुआङको बहिर्गमनले कम्पनीको आम्दानीमा जोखिम थपेको हाम्रो विश्वास छ। हामी एनभिडियाको बजार हिस्साबाट आफ्नो हिस्सा बढाउन खोजिरहेका कम्पनीहरूमा लगानी गर्न रुचाउँछौँ। हुआङको बहिर्गमनले एएमडी वा ब्रोडकमजस्ता कम्पनीका लागि अवसरको ढोका अझ खुला बनाउन सक्छ।”