ताजा समाचार

भारतीय चिप स्टार्टअप भारत सेमीले जुटायो २४ मिलियन डलरको प्रारम्भिक लगानी

भारतीय चिप स्टार्टअप भारत सेमीले जुटायो २४ मिलियन डलरको प्रारम्भिक लगानी
Global IME Bank

भारतीय सेमिकन्डक्टर स्टार्टअप भारत सेमीले कृत्रिम बुद्धिमतामा आधारित इमेज सेन्सर विकास गर्न २४ मिलियन अमेरिकी डलरको प्रारम्भिक लगानी जुटाएको छ। कम्पनीले अमेरिका र अन्य देशका ग्राहकलाई लक्षित गर्दै आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको छ।

करिब पाँच वर्ष पुरानो यो स्टार्टअपले अहिलेसम्म आम्दानी सुरु नगरे पनि अमेरिकी रक्षा प्रविधि कम्पनी जनरल एटोमिक्स र भारतको केन्स सेमिकनसँग उत्पादन डिजाइनसम्बन्धी सम्झौता हासिल गरेको जनाएको छ। यद्यपि, कम्पनीका इमेज सेन्सर अझै विकासकै चरणमा छन्। स्टार्टअपले सन् २०२७ मा प्रारम्भिक व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।

भारतले घरेलु सेमिकन्डक्टर उद्योग विकास गर्न अर्बौं डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिकी कम्पनीहरूले चीनबाहिर आपूर्ति शृंखला विस्तार गर्न खोजिरहेका बेला भारतले वैकल्पिक उत्पादन केन्द्रका रूपमा स्थापित हुने लक्ष्य राखेको छ। तर भारत अझै प्रमुख चिप उत्पादन केन्द्रका रूपमा स्थापित हुन सकेको छैन। यसैबीच, कृत्रिम बुद्धिमताको बढ्दो प्रयोगले भारत सेमीजस्ता स्टार्टअपलाई विश्व बजारका लागि विशेष प्रकारका चिप विकास गर्ने अवसर दिएको छ।

नयाँ दिल्लीस्थित यो स्टार्टअपले एउटै चिपमा तस्बिर खिच्ने, प्रशोधन गर्ने र कृत्रिम बुद्धिमतासम्बन्धी क्षमता समेटिएका प्रोग्राम गर्न मिल्ने इमेज सेन्सर विकास गरिरहेको छ। यसले दृश्यसम्बन्धी तथ्यांकलाई छुट्टै प्रोसेसरमा पठाउनुपर्ने आवश्यकता घटाउँछ।

कम्पनीकी सहसंस्थापक वृन्दा कपुरका अनुसार परम्परागत प्रणालीमा छुट्टाछुट्टै इमेज सेन्सर, इमेज सिग्नल प्रोसेसर र सिस्टम अन चिप प्रयोग गर्नुपर्ने हुन्छ। तर कम्पनीको प्रविधिले त्यस्तो प्रणालीको तुलनामा लागत कम्तीमा ७० प्रतिशत घटाउन सक्छ।

“हाम्रो उद्देश्य सेन्सरबाट अघि बढेर सूचना बुझ्ने र त्यसअनुसार काम गर्न सक्ने समाधान विकास गर्नु हो,” कपुरले टेकक्रन्चसँगको अन्तर्वार्तामा भनिन्।

टेकक्रञ्चका अनुसार यसअघि स्वास्थ्य प्रविधि क्षेत्रमा काम गरेकी र साउथ पार्क कमन्सकी फेलोसमेत रहेकी कपुरले सन् २०२१ को अन्त्यतिर विनायक डाल्मियासँग मिलेर भारत सेमी स्थापना गरेकी थिइन्। डाल्मिया कम्पनीका प्रबन्ध निर्देशक हुन्। उनले यसअघि म्याकिन्से र निजी इक्विटी क्षेत्रमा काम गरेका थिए। कम्पनीका प्रमुख प्रविधि अधिकृत बोयड फाउलर यसअघि इमेज सेन्सर निर्माता कम्पनी ओम्नीभिजनमा पनि सोही पदमा कार्यरत थिए।

भारत सेमीले स्मार्ट होम, औद्योगिक स्वचालन, निगरानी प्रणाली र एयरोस्पेस क्षेत्रलाई लक्षित गरेको छ। कपुरले विस्तृत विवरण नदिए पनि कम्पनीको प्रविधिबाट कोठा खाली हुँदा आफैँ बन्द हुने वा तापक्रम समायोजन गर्ने एयर कन्डिसनर तथा महँगा कम्प्युटिङ उपकरणबिना नै दृश्यसम्बन्धी जानकारी प्रशोधन गर्न सक्ने ड्रोन विकास गर्न सकिने बताइन्।

कपुरका अनुसार कम्पनीका पहिलो पुस्ताका सेन्सर अहिले प्रोटोटाइप चरणमा छन्। अझ उन्नत कृत्रिम बुद्धिमता क्षमता समावेश गरिने दोस्रो पुस्ताका सेन्सर सन् २०२७ को मध्यसम्म प्रोटोटाइप चरणमा पुग्ने अपेक्षा गरिएको छ। कम्पनीले सन् २०२७ को अन्त्यसम्म ती नयाँ सेन्सर ग्राहकलाई उपलब्ध गराउने योजना बनाएको छ।

कम्पनीले जुटाएको सबै लगानी इक्विटीका रूपमा रहेको छ। इन्फो एज ग्रुप, साउथ पार्क कमन्स र इन्डस ब्रिज भेन्चर्सले लगानीको नेतृत्व गरेका छन्। भालोर क्यापिटल, माइक्रोम्याक्स, गेइङ्गल्स तथा व्यक्तिगत लगानीकर्ताले पनि सहभागिता जनाएका छन्।

कपुरका अनुसार कम्पनीले प्राप्त लगानी इन्जिनियरिङ टोली विस्तार गर्न, उत्पादन विकास पूरा गर्न र सेन्सर बजारमा ल्याउन प्रयोग गर्नेछ।

भारत सेमीमा भारत र अमेरिकामा गरी करिब ७५ जना कर्मचारी छन्। त्यसमध्ये १० देखि १२ जना अमेरिकामा कार्यरत छन्। अमेरिकाको सान्टा क्लारास्थित कार्यालयमा इन्जिनियरिङ र व्यावसायिक विकाससम्बन्धी काम हुँदै आएको छ। कपुरका अनुसार कम्पनीले सन् २०२७ को मध्यसम्म अमेरिकामा कर्मचारी संख्या बढाएर करिब २० पुर्‍याउने योजना बनाएको छ। कम्पनीले युरोपमा पनि इन्जिनियर भर्ना गर्न थालेको छ।

“भारतबाटै विश्वव्यापी प्रविधि कम्पनी निर्माण गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हाम्रो मुख्य उद्देश्य हो,” कपुरले भनिन्।

सन् २०२४ मा भारत सेमीले अमेरिकी स्पेस फोर्ससँग प्रविधि साझेदारी गर्दै भारतमा सेमिकन्डक्टर उत्पादन केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेको थियो। कपुरका अनुसार उक्त योजना अझै विकासकै चरणमा छ। कम्पनीले उत्पादन केन्द्र निर्माण र सञ्चालन गर्न सक्ने भारतीय साझेदार पहिचान गर्ने काम गरिरहेको छ।

तर उक्त परियोजना भारत सेमीको इमेज सेन्सर व्यवसायभन्दा अलग रहेको कपुरले स्पष्ट पारिन्। कम्पनीले आफ्नै चिप उत्पादन कारखाना नखोली चिप उत्पादनको काम बाहिरी कम्पनीलाई दिने र सेमिकन्डक्टर डिजाइन तथा सफ्टवेयर विकासमा केन्द्रित रहने योजना बनाएको छ। हालै जुटाइएको नयाँ लगानी प्रस्तावित उत्पादन केन्द्र निर्माणमा खर्च गरिने छैन।

Sajilo Visa
easy care