ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

  • Technology Khabar | २० कार्तिक २०८३, शुक्रबार
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरे।

करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ। जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन्। वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर बैंकले यसलाई उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा उभ्याउन खोजेको जनाएको छ।

भूमिपूजापछि बोल्दै बैंकका अध्यक्ष ढकालले यो भवन वाणिज्य बैंकहरुका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचना हुने बताए। “नयाँ भवन अत्याधुनिक तथा सुविधासम्पन्न हुनुका साथै काठमाडौँ उपत्यकाको एउटा नमूना (आइकन) भवन बन्नेछ,” उनले भने। उनले अत्याधुनिक भवन निर्माणसँगै सेवाग्राहीलाई बैंकको सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी हुने बताए।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकका सेवाग्राही तथा कर्मचारीलाई ध्यानमा राखेर पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिएको बताए। उनले भवनलाई पूर्णतः ऊर्जा बचत गर्ने शैलीमा ढाल्न लागिएको, पानीको समस्या नहोस् भनेर आकाशे पानी सङ्कलन तथा प्रशोधन गर्ने प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा (सोलार) जडान गरिने र यसबाट प्राकृतिक स्रोतको सही उपयोग हुनुका साथै वातावरणीय सन्तुलनमा पनि सघाउ पुग्ने बैंकको विश्वास रहेको बताए।

उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूह तथा कर्मचारीको उपस्थिति रहेको थियो।

प्रकाशित: २० कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Minister Dr Timilsina directs officials to keep citizens in centre

  • Technology Khabar
  • २० कार्तिक २०८३, शुक्रबार