बिक्रीमा कमी आएका कारण टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रक उत्पादन बन्द गर्ने
काठमाडौं ।
टेस्लाले टेक्सासस्थित आफ्नो गिगाफ्याक्ट्रीमा सन् २०२७ को मध्यतिरदेखि साइबरट्रकको उत्पादन बन्द गर्ने भएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले शुक्रबार यस्तो बताएका हुन्। भविष्यको पिकअप ट्रकका रूपमा प्रचार गरिएको यो मोडलको बिक्री वर्षौंदेखि कमजोर रहँदै आएको छ। यसको भारी र कोणीय डिजाइनका कारण यो सीमित बजारमा मात्रै बिक्री हुन सकेको छ।
मस्कले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा साइबरट्रकको उत्पादन घटाएर बन्द गर्ने निर्णयले कम्पनीलाई हालै बजारमा ल्याइएको नयाँ साइबरक्याब मोडलको उत्पादन बढाउन सहयोग पुग्ने बताएका छन्। अर्बपति मस्कले टेस्लाको रोबोट्याक्सी योजनामा साइबरक्याबलाई मुख्य हिस्सा बनाएका छन्।
साइबरट्रकको उत्पादन अर्को कारखानामा सारिने हो वा पूर्ण रूपमा बन्द गरिने हो भन्ने तत्काल स्पष्ट भएको छैन। तर, यस मोडलका विशेष पार्टपुर्जा उत्पादन गर्न सक्ने टेस्लाको एक मात्र ज्ञात कारखाना अस्टिनस्थित प्लान्ट हो।
रोयटर्सका अनुसार एक्समा एक प्रयोगकर्ताको प्रतिक्रियामा मस्कले साइबरट्रकलाई ‘टेस्लाले अहिलेसम्म बनाएको सबैभन्दा राम्रो गाडी’ भनेका छन्। उनले यसको उत्पादन बन्द गर्ने निर्णयलाई ‘एउटा युगको अन्त्य’ पनि बताएका छन्।
नियमित कार्यालय समयबाहिर पठाइएको टिप्पणीका लागि गरिएको अनुरोधमा टेस्लाले तत्काल प्रतिक्रिया नदिएको रोयटर्सको भनाइ छ।
अमेरिकी विद्युतीय सवारीसाधन निर्माता टेस्लाले सन् २०२३ को अन्त्यतिर मात्रै ग्राहकलाई साइबरट्रक हस्तान्तरण गर्न थालेको थियो। केली ब्लु बुकका अनुसार कम्पनीले गत वर्ष अमेरिकामा २० हजार २३७ वटा मात्रै साइबरट्रक बिक्री गरेको थियो।
यो सन् २०२४ मा बिक्री भएका ३८ हजार ९६५ वटाको तुलनामा ४८ प्रतिशत कम हो। पिकअप ट्रक बजारमा ल्याउनुअघि मस्कले वार्षिक २ लाख ५० हजार वटा बिक्री हुने अनुमान गरेका थिए।
एस्टन मार्टिनका पूर्वप्रमुख कार्यकारी अधिकृत एन्डी पाल्मरले भने, “यसले आफ्नो लक्ष्य पूरा गर्न नसकेको अवस्थामा उत्पादन जारी राख्नुको कुनै अर्थ छैन। कुनै पनि विवेकशील अटोमोबाइल क्षेत्रका व्यक्तिले यही कुरा भन्छन्।”
उनले थपे, “यसले टेस्लाको वित्तीय विवरणमा खासै ठूलो प्रभाव नपार्ला, तर तथ्यांकले आफैँ सबै कुरा स्पष्ट पार्छन्।”
सन् २०१९ मा पहिलोपटक सार्वजनिक भएदेखि नै साइबरट्रक मस्कको विवादास्पद छनोट बनेको थियो। यसको कोणीय डिजाइनलाई परम्परागत पिकअप ट्रकका पारखीहरूले व्यंग्य गरेका थिए भने सुरक्षा विज्ञहरूले युरोपजस्ता प्रमुख बजारमा बिक्री अनुमति पाउन कठिन हुने बताएका थिए।
साइबरट्रक सार्वजनिक गर्ने कार्यक्रममा मस्कले ठूलो हथौडाले हानेर यसको सिसा नफुट्ने प्रमाणित गर्न खोजेका थिए। तर, त्यस क्रममा दुईवटा सिसामा ठूलो चिरा परेको थियो।
सन् २०२३ मा साइबरट्रकको औपचारिक सार्वजनिक कार्यक्रममा मस्कले यसलाई जनरल मोटर्स र फोर्डका पिकअप ट्रकसँग प्रतिस्पर्धा गर्ने भविष्यको गाडीका रूपमा प्रस्तुत गरेका थिए। उनले भनेका थिए, “अन्ततः भविष्य अब भविष्यजस्तै देखिनेछ।”
तर यो गाडीले ती अपेक्षा पूरा गर्न संघर्ष गरिरहेको छ।
अटोमोबाइल विश्लेषक फेलिपे मुनोजले कमजोर बिक्रीका कारण साइबरट्रकलाई असफल भनिए पनि फोर्डलगायत अन्य कम्पनीका विद्युतीय पिकअप ट्रकले पनि अमेरिकी बजारमा अपेक्षित सफलता हासिल गर्न नसकेको बताए।
“विद्युतीय पिकअप ट्रक अमेरिकामा लोकप्रिय नभएकाले ती सबै प्रतिस्पर्धामा पछाडि परेका हुन्,” मुनोजले भने।
तर, साइबरट्रकको धारिलो किनारा भएको स्टेनलेस स्टिलको डिजाइनले युरोपजस्ता बजारमा यसको सम्भावना सीमित बनाएको छ। विद्युतीय सवारीसाधन बढी लोकप्रिय रहेको युरोपमा पनि पैदलयात्रीलाई ठक्कर दिँदा हुने असरसम्बन्धी नियमका कारण यसले नियामक निकायबाट बिक्री अनुमति पाउन सकेन।
एस्टन मार्टिनका पूर्वप्रमुख कार्यकारी अधिकृत पाल्मरले भने, “पैदलयात्रीलाई ठक्कर दिँदा पर्ने असरलाई ध्यानमा राखेर दुर्घटना सुरक्षा मापदण्ड बनाइएका जुनसुकै ठाउँमा पनि साइबरट्रक जान सक्दैन, यसको बिक्री अनुमति पाउन सक्दैन।”