प्रविधि

मेटाको एआई एजेन्ट ‘म्युज’मा अब भिडियो कल र भ्वाइस च्याट सुविधा

मेटाको एआई एजेन्ट ‘म्युज’मा अब भिडियो कल र भ्वाइस च्याट सुविधा
Global IME Bank

मेटाले आफ्नो एआई एजेन्ट ‘म्युज’मा भ्वाइस च्याट र भिडियो कल गर्ने सुविधा अमेरिकाका सबै प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ। कम्पनीले बिहीबार यसबारे जानकारी दिएको हो।

मेटाले गत सेप्टेम्बरमा आयोजना गरेको ‘कनेक्ट’ डेभलपर सम्मेलनमा पहिलोपटक यो सुविधा सार्वजनिक गरेको थियो। यसका लागि कम्पनीले ‘म्युज रियलटाइम अवतार’ र ‘म्युज रियलटाइम भ्वाइस’ नामका नयाँ एआई मोडेल विकास गरेको छ। यी प्रविधिले प्रयोगकर्तासँग कुराकानी गर्ने डिजिटल अवतार सञ्चालन गर्न सहयोग गर्छन्।

अन्य एआई प्रतिस्पर्धी कम्पनीले पनि भ्वाइस च्याट सुविधा उपलब्ध गराउँदै आएका छन्। तर मेटाको म्युजमा भने एनिमेटेड अवतारसमेत राखिएको छ। ‘जोली’ उपनाम दिइएको यो अवतारसँग प्रयोगकर्ताले प्रश्न सोध्न वा आफ्नो तर्फबाट कुनै काम गर्न अनुरोध गर्न सक्छन्।

प्रयोगकर्ताले आफ्नो रुचिअनुसार अवतारको स्वरूप पनि परिवर्तन गर्न सक्नेछन्। यसलाई मानिस, जनावर वा अन्य कुनै पात्रजस्तो देखिने गरी अनुकूल बनाउन सकिने कम्पनीले जनाएको छ।

मेटाका अनुसार अवतारलाई मानवीय स्वरूप र हाउभाउ दिँदा प्रयोगकर्ताले एआई एजेन्टसँग अझ नजिकको सम्बन्ध महसुस गर्न सक्छन्। प्रत्यक्ष कुराकानी गर्न थालेपछि यस्तो सम्बन्ध थप बलियो हुने कम्पनीको अपेक्षा छ।

म्युजले बोल्दा कुराकानीको विषय र भावअनुसार अनुहारमा सामान्य हाउभाउ र शारीरिक संकेतसमेत देखाउने मेटाले जनाएको छ। यद्यपि म्युजले प्रयोगकर्तालाई प्रत्यक्ष देख्न भने सक्दैन। यसले प्रयोगकर्ताको आवाज सुनेर कुराकानीका आधारमा प्रतिक्रिया दिन्छ।

यो सुविधा सार्वजनिक भएको जानकारी मेटाका प्रमुख एआई अधिकृत अलेक्जान्डर वाङले ब्लग पोस्ट र सामाजिक सञ्जाल एक्समार्फत दिएका हुन्। उनले म्युजसँग कुराकानी गरेको एउटा नमुना भिडियोसमेत सार्वजनिक गरेका छन्।

टेकक्रञ्चका अनुसार भिडियोमा वाङले एक्समा मिम (हास्यात्मक तस्बिर वा सामग्री) पोस्ट गर्ने आफ्नो बानीका कारण आफूलाई कार्यालयमा समस्या परेको हुन सक्ने भन्दै म्युजसँग ठट्टा गरेका छन्।

त्यसको जवाफमा सेतो रौँ भएको कुकुरको स्वरूपमा देखिएको उनको एआई अवतारले मेटाले विवादास्पद सामग्रीलाई समर्थन गरेको अर्थ लाग्न सक्ने भएकाले त्यस्ता मिममा स्पष्ट पार्ने सूचना राख्न सुझाव दिएको छ।

मेटाले म्युजमा भिडियो च्याट र कल सुविधा थपेको घोषणा यस्तो एआई एजेन्ट प्रयोग गर्न मिल्ने टामागोची शैलीको पहिरनयोग्य उपकरण सार्वजनिक गर्ने तयारी भइरहेका बेला गरेको हो। कम्पनीले उक्त उपकरण यसै वर्षको अन्त्यसम्ममा सार्वजनिक गर्ने योजना बनाएको छ।

उक्त उपकरणमा रहेको सानो स्क्रिनमा म्युजको डिजिटल अवतार देखिनेछ। प्रयोगकर्ताले त्यससँग कुरा गर्न सक्नेछन् भने एआई एजेन्टले जवाफ दिनुका साथै उनीहरूको अनुरोधअनुसार विभिन्न कामसमेत गर्न सक्नेछ।

Sajilo Visa
easy care