किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी

  • Technology Khabar | १६ कार्तिक २०८३, सोमबार
किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी
फोटो सौजन्यः इनग्याजेट

काठमाडौं ।

मेटाले फेसबुकमा किशोरकिशोरीले आत्महत्या वा आत्महानिसम्बन्धी सामग्री पटकपटक खोजेमा उनीहरूका अभिभावकलाई सूचना दिने भएको छ। सम्भावित जोखिमको पहिचान समयमै गरी अभिभावकलाई आफ्ना सन्तानलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्षम बनाउने उद्देश्यले कम्पनीले यस्तो व्यवस्था गर्न लागेको हो।

नयाँ प्रणाली मेटाका अभिभावकीय निगरानी सुविधामार्फत सञ्चालन हुनेछ। यसमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जरका साथै मेटा एआईसँगका कुराकानीमा किशोरकिशोरीले गर्ने गतिविधिसमेत समेटिने कम्पनीले जनाएको छ।

टेलिग्राफका अनुसार छोटो समयभित्र किशोरकिशोरीले आत्महत्या वा आत्महानिसम्बन्धी सामग्री पटकपटक खोजेमा अभिभावकले सूचना प्राप्त गर्नेछन्। यस्तो सूचना एसएमएस, इमेल, ह्वाट्सएप वा सम्बन्धित एपमार्फत पठाइनेछ।

तर अभिभावकलाई पठाइने सूचनामा किशोरकिशोरीले खोजेका सामग्रीका ठ्याक्कै शब्द वा कृत्रिम बौद्धिकता (एआई) सँग गरेका कुराकानीको विवरण भने समावेश हुने छैन। त्यसको सट्टा सम्भावित जोखिमबारे जानकारी दिँदै यस्ता संवेदनशील विषयमा आफ्ना सन्तानसँग कसरी संवाद गर्ने भन्ने मार्गदर्शन उपलब्ध गराइने मेटाले जनाएको छ।

सूचनासँगै अभिभावकलाई विज्ञहरूले तयार पारेका सामग्री तथा सुझाव पनि उपलब्ध गराइनेछ। यसबाट उनीहरूले सम्भावित अवस्थालाई बुझ्न र आफ्ना सन्तानलाई आवश्यक सहयोग गर्न सक्ने कम्पनीको अपेक्षा छ।

मेटाले यसअघि नै इन्स्टाग्राममा यस्तै प्रकृतिको सूचना प्रणाली सुरु गरेको थियो। फेसबुक र मेटा एआईमा समेत यसको विस्तार गरेर कम्पनीले आफ्ना प्लेटफर्ममा नाबालिग प्रयोगकर्ताको सुरक्षा व्यवस्था थप बलियो बनाउन खोजेको छ।

प्रकाशित: १६ कार्तिक २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...