काठमाडौं ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन गर्ने भएको छ।
प्रतिष्ठानले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा ‘एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयमा तालिम सञ्चालन गर्न लागेको हो।
तालिममा च्याटजीपीटी, क्लोड लगायतका कृत्रिम बौद्धिकता (एआई) उपकरणको प्रभावकारी प्रयोग, प्रम्प्ट लेखन, इमेल तथा प्रस्तुतीकरण तयार गर्ने, तस्बिर र छोटा भिडियो निर्माण गर्ने सीप सिकाइनेछ। त्यस्तै, एआईबाट प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने तरिकाबारे पनि प्रशिक्षण दिइने प्रतिष्ठानले जनाएको छ।
आगामी कात्तिक १८ र १९ गते सञ्चालन हुने तालिम अनलाइन माध्यमबाट निःशुल्क प्रदान गरिनेछ। तालिम बिहान १० देखि १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म सञ्चालन हुनेछ।
तालिमका लागि चारवटा सेसन निर्धारण गरिएको छ। प्रत्येक सेसनमा अधिकतम ५०० जनालाई सहभागी गराइनेछ भने कुल २ हजार जनालाई तालिम दिने लक्ष्य राखिएको छ। प्रत्येक सहभागीलाई एउटा सेसनमा मात्र समावेश गरिने सूचनामा उल्लेख छ।
प्रकाशित: १५ कार्तिक २०८३, आईतवार