चोरी भएको ६ अर्ब डलरमध्ये अधिकांश रकम फिर्ता पाएपछि बाइनान्सले निकासी सेवा पुनः सुरु गर्ने

  • Technology Khabar | १५ कार्तिक २०८३, आईतवार
चोरी भएको ६ अर्ब डलरमध्ये अधिकांश रकम फिर्ता पाएपछि बाइनान्सले निकासी सेवा पुनः सुरु गर्ने

काठमाडौं ।

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले आफ्नो प्लेटफर्मबाट चोरी भएको ६ अर्ब ३० करोड डलर बराबरको टोकनमध्ये ९५ प्रतिशत रकमको व्यवस्था गरेपछि चरणबद्ध रूपमा निकासी सेवा पुनः सुरु गर्ने जनाएको छ। एफबीआईले विश्वकै सबैभन्दा ठूलो डिजिटल चोरीको घटनामा उत्तर कोरियाको संलग्नता रहेको बताएको छ।

चोरी भएका टोकनमध्ये बाँकी ५ प्रतिशत कम तरलता भएका सम्पत्ति रहेको र आवश्यक परिमाणमा ती सम्पत्ति जुटाउन थप समय लाग्न सक्ने बाइनान्सले शनिबार अबेर सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ।

बाइनान्सका अनुसार निकासी सेवा आइतबार बिहान ०६:०० देखि ०९:०० जीएमटीबीच सुरु हुनेछ। पहिलो चरणमा बिटक्वाइन, इथेरियम, बीएनबी, सोलाना, एक्सआरपी, डजक्वाइनलगायतका क्रिप्टोकरेन्सी समावेश हुनेछन्।

एफबीआईले शनिबार उत्तर कोरियाको राज्य समर्थित ‘ट्रेडरट्रेटर’ नामक समूह उक्त साइबर आक्रमणका लागि जिम्मेवार रहेको बताएको थियो।

रोयटर्सका अनुसार प्योङयाङले वर्षौंदेखि जासुसी, वित्तीय चोरी र आम्दानी जुटाउन राज्यसँग सम्बन्धित साइबर समूह प्रयोग गर्ने गरेको आरोप अस्वीकार गर्दै आएको छ। यस विषयमा टिप्पणी माग्दै जेनेभास्थित उत्तर कोरियाली नियोग र चीनस्थित दूतावासलाई सम्पर्क गरिए पनि कुनै प्रतिक्रिया प्राप्त भएन।

एफबीआईका अनुसार उक्त समूहका सदस्यहरूले चोरी भएका सम्पत्तिलाई इथेरियम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरेको पाइएको छ। सम्बन्धित प्रविधिको प्रयोग गरेर ती सम्पत्तिको थप अवैध कारोबार तथा रकम शुद्धीकरण हुन सक्ने अपेक्षा गरिएको पनि एफबीआईले आफ्नो विज्ञप्तिमा जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार