नेपा एपको नयाँ अपडेट सार्वजनिक भएसँगै विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स सुविधामा थप

  • Technology Khabar | १५ कार्तिक २०८३, आईतवार
नेपा एपको नयाँ अपडेट सार्वजनिक भएसँगै विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स सुविधामा थप

काठमाडौं ।

नेपाली प्रयोगकर्ताका लागि तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनलाई सहज बनाउने उदेश्यले विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन्।

फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, नियमित रूपमा पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, जिल्लागत मौसम, तरकारीको मूल्य, इन्धनको मूल्य, अस्पतालमा उपलब्ध फ्री खाली बेड तथा ब्लड बैंकसम्बन्धी जानकारी लगायतका सुविधा थप भएका हुन्।

नयाँ अपडेटमा विशेषगरी नेपाली भाषामा डिजिटल काम गर्न उपयोगी हुने ओसीआर र स्वास्थ्य तथा दैनिक जीवनसँग सम्बन्धित वाटर रिमाइन्डरलाई प्राथमिकताका साथ समेटिएको छ।

फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर सुविधा नयाँ अपडेटको आकर्षक सुविधा बनेको छ। यस सुविधामार्फत फोटो वा तस्बिरमा रहेका नेपाली अक्षर तथा शब्दलाई डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिने छ।

नयाँ अपडेटमा समावेश गरिएको अर्को सुविधा वाटर रिमाइन्डर हो। यसले निर्धारित समयमा पानी पिउन सम्झाउन सहयोग गर्छ।

नयाँ अपडेटमा वर्ल्ड क्लक र बीएमआई क्याल्कुलेटर पनि समावेश गरिएका छन्। जसबाट विभिन्न देश तथा सहरको स्थानीय समय हेर्न सकिन्छ।

त्यस्तै, बीएमआई क्याल्कुलेटरले उचाइ र तौलका आधारमा शरीरको बडी मास इन्डेक्स गणना गर्न सहयोग गर्छ।

स्वास्थ्य तथा सार्वजनिक सेवासँग सम्बन्धित सुविधालाई विस्तार गर्दै नेपा एपको नयाँ अपडेटमा अस्पतालमा उपलब्ध फ्री खाली बेडको सूची र अस्पतालअनुसार ब्लड बैंकको सूची पनि समावेश गरिएको छ।

कम्पनीका अनुसार, सरकारी सूचना तथा अवसरमा चासो राख्ने प्रयोगकर्ताका लागि नयाँ अपडेटमा लोकसेवा आयोगका सूचना र टेन्डरसम्बन्धी सूचना पनि समावेश गरिएका छन्। यसले लोकसेवा तयारी गरिरहेका विद्यार्थी, सरकारी अवसर खोजिरहेका व्यक्ति तथा टेन्डरसम्बन्धी जानकारी आवश्यक पर्ने व्यवसायीलाई उपयोगी हुन सक्छ।

नयाँ अपडेटमा पेट्रोल तथा डिजेलको मूल्यसम्बन्धी जानकारीसँगै ट्रिप क्याल्कुलेटर पनि थपिएको छ।

ट्रिप क्याल्कुलेटरमार्फत यात्राको दूरी तथा सवारीसाधनको इन्धन खपतका आधारमा यात्रामा लाग्न सक्ने इन्धन खर्चको अनुमान गर्न सकिन्छ।

दैनिक बजारसँग सम्बन्धित जानकारीलाई सहज बनाउने उद्देश्यले एपमा तरकारीको मूल्य हेर्न सकिने सुविधा थपिएको छ।

त्यसैगरी जिल्लागत मौसम सुविधामार्फत विभिन्न जिल्लाको मौसमसम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ। यसले आफ्नो जिल्ला वा अन्य स्थानको मौसमबारे जानकारी लिन चाहने प्रयोगकर्तालाई सहज बनाउने कम्पनीले विश्वास लिएको छ।

नेपा एपमा यसअघि नै नेपाली पात्रो, नेपाली समाचार, जिल्लागत समाचार, नजिकका समाचार, नेपाली रेडियो, दैनिक राशिफल, सुनको मूल्य, सुनको मूल्य कन्भर्टर, विदेशी मुद्रा विनिमय दर, मुद्रा कन्भर्टर, डकुमेन्ट स्क्यानर, महिनावारी ट्र्याकर, नोट तथा रिमाइन्डर, क्यूआर कोड स्क्यानर, नेपाली मिति कन्भर्टर, युनिट कन्भर्टर, क्याल्कुलेटर, कर क्याल्कुलेटर, ईएमआई क्याल्कुलेटर, जीपीएस लोकेसन सेयरिङ र इन्टरनेट स्पिड मिटरजस्ता सुविधाहरू उपलब्ध छन्।

प्रकाशित: १५ कार्तिक २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार