अमेरिकी टेलिफोन नम्बरहरूमा चिनियाँ दूरसञ्चार कम्पनीहरूको प्रत्यक्ष पहुँचमा रोक लगाउने अमेरिकी योजना

  • Technology Khabar | १५ कार्तिक २०८३, आईतवार
अमेरिकी टेलिफोन नम्बरहरूमा चिनियाँ दूरसञ्चार कम्पनीहरूको प्रत्यक्ष पहुँचमा रोक लगाउने अमेरिकी योजना

काठमाडौं ।

संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई अमेरिकी फोन नम्बरहरूमा प्रत्यक्ष पहुँच राख्नबाट चाँडै प्रतिबन्ध लगाउने योजना बनाएको छ। यो कदम ठगीसँग सम्बन्धित स्वचालित फोन कलहरू (रोबोकल्स) रोक्ने उद्देश्यले चालिएको हो।

अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले गत साता जनाए अनुसार, ‘चाइना मोबाइल’, ‘चाइना टेलिकम’, ‘चाइना युनिकम’ तथा आईपीमा आधारित सेवा प्रदान गर्ने अन्य कम्पनीहरूलाई अमेरिकी फोन नम्बरहरूमा प्रत्यक्ष पहुँच राख्नबाट रोक्ने प्रस्तावमाथि नोभेम्बर १९ मा मतदान हुने रोयटर्सले रिपोर्ट गरेको छ।

‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ (भिओआईपी)- अर्थात् आवाजलाई डिजिटल डाटामा रूपान्तरण गरी ब्रोडब्यान्ड जडानमार्फत प्रसारण गर्ने प्रविधि उपलब्ध गराउने दूरसञ्चार कम्पनीहरूका लागि ‘प्रत्यक्ष पहुँच’ निकै सस्तो विकल्प हो र यसले उन्नत सुविधाहरू प्रदान गर्न अझ सहज बनाउँछ।

एफसीसीका अध्यक्ष ब्रेन्डन कारले एक विज्ञप्तिमा भने, “यो निर्णयसँगै, एफसीसीले गलत मनसाय भएका व्यक्तिहरू र गैरकानुनी ‘रोबोकल’ (स्वचालित फोन कल) गर्नेहरू विरुद्धको हाम्रो सुरक्षाको पहिलो घेरालाई अझ बलियो बनाउनेछ।”

वासिङ्टनस्थित चिनियाँ दूतावासले यस कदमको आलोचना गर्दै भनेको छ, “यसले चिनियाँ र अमेरिकी व्यवसायहरूबीचको सामान्य आर्थिक तथा व्यापारिक सहकार्यमा गम्भीर अवरोध पुर्याउँछ र यो अमेरिकी कम्पनी तथा उपभोक्ताहरू लगायत कुनै पनि पक्षको हितमा छैन।”

बिहीबार, एफसीसीले ह्वावे वा जेडटीई लगायतका, राष्ट्रिय सुरक्षाका लागि जोखिम मानिने कम्पनीहरूको डिभाइस प्रयोग गर्ने आईपीमा आधारित सेवा प्रदायकहरूलाई रोक लगाउने योजना रहेको बताएको छ।

सो निकायले सन् २०२८ को डिसेम्बरदेखि अमेरिकी इलेक्ट्रोनिक्स उपकरणहरूको परीक्षण गर्ने सबै चिनियाँ प्रयोगशालाहरूमाथि प्रतिबन्ध लगाउने र राष्ट्रिय सुरक्षाका लागि जोखिम मानिएका चिनियाँ कम्पनीहरूलाई दिइएको प्रत्यक्ष नम्बर सम्बन्धी अनुमतिहरू पनि खारेज गर्न सक्ने जनाएको रिपोर्टमा भनिएको छ।

प्रकाशित: १५ कार्तिक २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार