काठमाडौं ।
भारतीय ब्रान्ड ‘कार्बोन’ भारतको स्मार्टफोन बजारमा प्रवेश गर्दैछ। चिनियाँ उत्पादकहरूको वर्चस्व रहेको यस बजारमा कम्पनीले आफ्नो उपस्थिति पुनः स्थापित गर्ने प्रयास गरिरहेको छ।
बिहीबार जारी गरिएको एक विज्ञप्तिमा कम्पनीले भनेको छ, “१५ वर्षभन्दा बढी समयदेखि मोबाइल फोन उद्योगमा सक्रिय रहेको भारतीय ब्रान्ड ‘कार्बोन(Karbonn)’ ले भारतको स्मार्टफोन बजारमा आफ्नो उपस्थिति पुनः स्थापित गर्दै एक नयाँ अध्यायको सुरुवात गरिरहेको छ।”
दिल्लीमा आधारित यस ब्रान्डले आफ्नो लगानी योजना, उत्पादनसम्बन्धी भावी रणनीतिवा मूल्य निर्धारणबारे विस्तृत विवरण नदिए पनि, आफ्ना स्मार्टफोनहरूले युवा भारतीयहरूको आवश्यकता पूरा गर्ने बताएको छ।
कार्बोन मोबाइल्सको स्थापना सन् २००९ मा बेंगलुरुस्थित युनाइटेड टेलिलिंक्स लिमिटेड (युटिएल) र जैना मार्केटिङ (Jaina Marketing) बीचको संयुक्त उद्यमका रूपमा भएको थियो।
सुरुवाती चरणमा, यसले किफायती एन्ड्रोइड स्मार्टफोनहरू बिक्री गर्थ्यो र सन् २०१४ को तेस्रो त्रैमासिकमा यो भारतको चौथो ठूलो स्मार्टफोन ब्रान्ड बनेको थियो।
तर, माइक्रोम्याक्स इन्फर्मेटिक्स र लाभा इन्टरनेसनल लिमिटेड जस्ता अन्य घरेलु कम्पनीहरू जस्तै, शाओमी, ओप्पो र भिभो जस्ता चिनियाँ कम्पनीहरूका सस्तो तथा आम बजार लक्षित स्मार्टफोनहरूको तीव्र आगमनले गर्दा, स्वदेशी ब्रान्डहरूलाई बजारबाट पछि हट्न वा पूर्ण रूपमा बजार छोड्न बाध्य बनायो।
कम्पनीले ‘कार्बोन रेबेल प्रो’ (Karbonn Rebel Pro) र ‘कार्बोन रेबेल’ (Karbonn Rebel) मार्फत भारतीय स्मार्टफोन बजारमा पुनः प्रवेश गर्ने तयारी गरेको हो। सार्वजनिक हुनुअघि, कम्पनीले ई-कमर्स प्लेटफर्म अमेजनमा यी आगामी स्मार्टफोनहरूबारे केही ‘टिजर’ (झलक दिने सामग्री) हरू जारी गरेको छ।
यसका साथै कम्पनीले यी स्मार्टफोनहरूको डिजाइनदेखि लिएर तिनका विशेषताहरूसम्मका विवरणहरू सार्वजनिक गरेको छ।
प्रो मोडलमा ६.७ इन्चको एचडी प्लस डिस्प्ले हुनेछ, जसले १२० हर्ज रिफ्रेस रेट र ७२० निट्स ब्राइटनेसलाई समर्थन गर्छ। यसले गर्दा दिउँसोको उज्यालोमा पनि फोनलाई सहज रूपमा चलाउन सकिन्छ। यसमा ६ हजार एमएचएच ब्याट्री हुनेछ।
अर्कोतर्फ कार्बोन रेबेलमा पनि ६.७ इन्चको एचडी प्लस डिस्प्ले हुनेछ, तर यसमा ब्याट्री पावर बढाएर ७ हजार एमएएचको राखिएको छ।
प्रकाशित: १५ कार्तिक २०८३, आईतवार