कीर्तिमानी नाफापछि चिप निर्माता एसके हाइनिक्सले सेयरधनीलाई ७५ अर्ब डलर फिर्ता गर्ने

  • Technology Khabar | १२ कार्तिक २०८३, बिहीबार
कीर्तिमानी नाफापछि चिप निर्माता एसके हाइनिक्सले सेयरधनीलाई ७५ अर्ब डलर फिर्ता गर्ने

काठमाडौं ।

दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्सले यस वर्ष सेयरधनीलाई करिब ७५ अर्ब डलर फिर्ता गर्ने जनाएको छ। कृत्रिम बुद्धिमता पूर्वाधारको मागले मेमोरी चिपको मूल्य बढाएपछि कम्पनीको त्रैमासिक नाफा सात गुणाभन्दा बढीले वृद्धि भएको बुधबार सार्वजनिक विवरणमा उल्लेख छ।

एनभिडियालाई चिप आपूर्ति गर्ने कम्पनी एसके हाइनिक्सले सन् २०२९ सम्मका लागि आफ्ना एचबीएम र डीआरएएम चिपको उत्पादन बिक्री भइसकेको पनि जनाएको छ।

कम्पनीका अनुसार एचबीएम चिपको माग उसले आपूर्ति गर्न सक्ने परिमाणभन्दा दोब्बर छ। चिपको अभाव सन् २०३० सम्म जारी रहने सम्भावना रहेको पनि कम्पनीले बताएको छ। यी भनाइ कृत्रिम बुद्धिमतासम्बन्धी मागको गति र यस क्षेत्रमा भइरहेको लगानी दीर्घकालसम्म टिक्ने विषयमा लगानीकर्ताले व्यक्त गर्दै आएका चिन्ताभन्दा फरक छन्।

कम्पनीको सकारात्मक प्रक्षेपणले एसियाली प्रविधि क्षेत्रका सेयरमा समेत वृद्धि गराउन सहयोग गरेको छ। एसके हाइनिक्स को सेयर मूल्य ११ प्रतिशतले बढेको छ भने यसको प्रतिस्पर्धी तथा ठूलो कम्पनी सामसङ इलेक्ट्रोनिक्सको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ।

रोयटर्सका अनुसार ग्राहकहरूले कृत्रिम बुद्धिमतामा गर्ने खर्च घटाउन सक्ने सम्भावनाबारे बोल्दै कम्पनीका प्रमुख वित्तीय अधिकारी किम उ-ह्युनले लगानीकर्ताले परियोजनाको सम्भाव्यता र नाफामा बढी ध्यान दिन थालेको बताए। यद्यपि, उनले लगानी भने जारी रहने बताए।

“ग्राहकहरूले कृत्रिम बुद्धिमतामा गरेको खर्चले यससम्बन्धी सेवाको व्यापक प्रयोग र व्यवसायमा ठोस नतिजा ल्याइरहेको छ। साथै, कृत्रिम बुद्धिमतामा लगानी गर्ने कम्पनीहरूको दायरा पनि फराकिलो हुँदै गएको छ। त्यसैले हामी कृत्रिम बुद्धिमतामा लगानीको गति जारी रहने अपेक्षा गर्छौँ,” किमले भने।

कम्पनीले यस वर्षको सेयरधनी प्रतिफल नीति अन्तर्गत करिब १०० ट्रिलियन वन (७५ अर्ब डलर) वितरण गर्ने जनाएको छ। यसमा ३० ट्रिलियन वनभन्दा बढी नगद लाभांश तथा ६० ट्रिलियन वनभन्दा बढी मूल्यका सेयर पुनः खरिद र रद्द गर्ने योजना समावेश छ। यसमा अगस्टमा घोषणा गरिएको ४० ट्रिलियन वन पनि समावेश छ।

कम्पनीले जापानी प्रतिस्पर्धी कियोक्सियामा गरेको लगानीबाट प्राप्त अधिकांश लाभ पनि सेयरधनीलाई फिर्ता गर्ने जनाएको छ। यसका लागि तेस्रो त्रैमासिक र पूर्ण वर्षको प्रतिफल वितरणसँगै विशेष लाभांश दिने योजना छ।

एनएभ इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजका वरिष्ठ विश्लेषक र्यु यङ-होका अनुसार आफ्नै सेयर पुनः खरिद गरेर रद्द गर्ने कम्पनीको प्रतिबद्धता प्रति सेयर मूल्य बढाउने प्रभावकारी उपाय हुनेछ।

कृत्रिम बुद्धिमतासम्बन्धी मागका कारण चिपको मूल्यमा आएको वृद्धिसँगै एसके हाइनिक्स को सेयर मूल्य यस वर्ष दोब्बरभन्दा बढी भएको छ। तर, जुन महिनामा कायम भएको उच्चतम मूल्यको तुलनामा अहिले यसको सेयर मूल्य आधाले घटेको छ।

प्रकाशित: १२ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार