काठमाडौं ।
स्पेनले डाटा सेन्टर सञ्चालन र नवीकरणीय ऊर्जाको प्रयोगसम्बन्धी प्रस्तावित नियमलाई थप लचिलो बनाएको छ। देशमा डाटा सेन्टर निर्माणका परियोजना घोषणा बढिरहेका बेला ऊर्जा मन्त्रालयका अधिकारीहरूले सोमबार संशोधित प्रस्ताव सार्वजनिक गरेका हुन्।
रोयटर्सका अनुसार संशोधित प्रस्तावअनुसार अब १० मेगावाटभन्दा बढी विद्युत् क्षमता भएका डाटा सेन्टरमा मात्र उक्त नियम लागू हुनेछ। यसअघि एक मेगावाटभन्दा बढी क्षमता भएका डाटा सेन्टरलाई नियमको दायरामा राख्ने प्रस्ताव गरिएको थियो।
त्यस्तै डाटा सेन्टर सञ्चालनमा आउनुअघि प्रयोग हुने ऊर्जाबराबरको नवीकरणीय ऊर्जा उत्पादन क्षमता स्थापना गर्नुपर्ने समयसीमा पनि बढाइएको छ।
यसअघि सञ्चालन सुरु हुनुभन्दा अघिका १८ महिनाभित्र नवीकरणीय ऊर्जा क्षमता स्थापना गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो। संशोधित प्रस्तावमा यो अवधि बढाएर ३६ महिना पुर्याइएको छ। सौर्य ऊर्जाका हकमा भने निश्चित समयसीमा तोकिएको छैन।
प्रस्तावले डाटा सेन्टरले सञ्चालनको प्रत्येक घण्टामा खपत गर्ने ऊर्जाको कम्तीमा ८० प्रतिशत नवीकरणीय ऊर्जाबाट पूर्ति गर्नुपर्ने व्यवस्था भने कायम राखेको छ। तर, संशोधित प्रस्तावमा विभिन्न सर्त पूरा गर्ने अवस्थामा उक्त लक्ष्य हासिल गर्न पाँच वर्षसम्मको संक्रमणकालीन अवधि लिन सकिने विकल्प थपिएको छ।
नवीकरणीय ऊर्जाको पर्याप्त उपलब्धता र ठूलो क्षेत्रफलमा खाली जमिन भएका कारण स्पेन युरोपमा डाटा सेन्टर स्थापनाको प्रमुख गन्तव्यका रूपमा उदाएको छ। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारसँग सम्बन्धित अर्बौं यूरोका परियोजनाले स्पेनमा लगानी आकर्षित गरिरहेका छन्।
नियमलाई लचिलो बनाउने पछिल्लो प्रस्तावले डाटा सेन्टर विकासकर्तालाई नवीकरणीय ऊर्जासम्बन्धी लक्ष्य पूरा गर्न थप समय र विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।
प्रकाशित: ११ कार्तिक २०८३, बुधबार