अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशबाट सञ्चालित क्रिप्टो ठगी नियन्त्रणका प्रयासबारे जानकारी दिने

  • Technology Khabar | ६ कार्तिक २०८३, शुक्रबार
अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशबाट सञ्चालित क्रिप्टो ठगी नियन्त्रणका प्रयासबारे जानकारी दिने
फाइल तस्बिर

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकलाई नक्कली क्रिप्टो लगानीमा फसाउने विदेशी आपराधिक सञ्जालविरुद्ध आफ्नो प्रशासनले गरिरहेका प्रयासबारे बुधबार जानकारी दिने भएका छन्।

ह्वाइट हाउसका एक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार साइबर अपराध नियन्त्रणसम्बन्धी कार्यक्रममा ट्रम्पले यसबारे चर्चा गर्नेछन्।

ह्वाइट हाउसमा हुने कार्यक्रममा ट्रम्प र उनको मन्त्रिपरिषद्का सदस्यले नक्कली क्रिप्टो लगानी वेबसाइट नियन्त्रणमा लिने तथा अनलाइनमा अरूको पहिचान दुरुपयोग गरेर गरिने ठगी रोक्ने सरकारी प्रयासबारे जानकारी दिने अपेक्षा गरिएको छ।

कार्यक्रममा गृह सुरक्षा मन्त्री मार्कवेन मुलिन, एफबीआई निर्देशक काश पटेल, रक्षा मन्त्री पिट हेगसेथ र महान्यायाधिवक्ता टोड ब्लान्च सहभागी हुने अपेक्षा गरिएको ह्वाइट हाउसका अधिकारीले बताएका छन्।

एफबीआईको प्रतिवेदनअनुसार अमेरिकी नागरिकले गत वर्ष इन्टरनेट ठगीसम्बन्धी १० लाखभन्दा बढी उजुरी दिएका थिए। यो सन् २०२४ को तुलनामा १७ प्रतिशत बढी हो। उजुरी दिने अमेरिकी नागरिकले ठगीका कारण ठूलो आर्थिक क्षति बेहोरेको प्रतिवेदनमा उल्लेख छ।

यसैबीच, ट्रम्पको आफ्नै परिवार पनि क्रिप्टो व्यवसायमा लगानी जुटाउने काममा संलग्न छ। रोयटर्सको अनुसन्धानअनुसार ट्रम्प र उनका छोराहरूले आफ्ना प्रमुख क्रिप्टो व्यवसायमार्फत पारिवारिक सम्पत्तिमा कम्तीमा २ अर्ब ३० करोड डलर थपेका छन्। तर, उनीहरूले लगानीका लागि आकर्षित गरेका लगानीकर्ताले भने २ अर्ब ३० करोड डलर गुमाएको अनुसन्धानमा उल्लेख छ।

रोयटर्सको अनुसन्धानबारे प्रतिक्रिया दिँदै ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले राष्ट्रपति ट्रम्प र उनको प्रशासनका सबै कदम अमेरिकी जनताको हितमा केन्द्रित रहेको बताएकी छन्।

रोयटर्सका अनुसार ट्रम्पले सन् २०२५ को अक्टोबरमा बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जका दोषी ठहरिएका संस्थापक चाङपेङ झाओलाई राष्ट्रपतीय क्षमादान दिएका थिए। प्रभावकारी सम्पत्ति शुद्धीकरण नियन्त्रण कार्यक्रम कायम गर्न असफल भएको आरोपमा बाइनान्सले दोष स्वीकार गरेपछि झाओले कम्पनीको पद छाडेका थिए।

यसअघि ट्रम्पले गत मार्चमा जारी गरेको कार्यकारी आदेशमार्फत अनलाइन अपराध गर्ने ठगहरूको पहिचान र अभियोजनलाई प्राथमिकता दिन न्याय मन्त्रालयलाई निर्देशन दिएका थिए। त्यसपछि उनले विदेशी आपराधिक ह्याकिङ समूहको निगरानी गर्न निजी कम्पनीहरूसँग सहकार्य गर्न गृह सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए।

प्रकाशित: ६ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार