काठमाडौं ।
सामसङले फेब्रुअरीमा ग्यालेक्सी एफ ७०ई र अगस्टमा ग्यालेक्सी एफ ७० प्रो सार्वजनिक गरेको थियो। यस सिरिजको आधारभूत मोडेल ग्यालेक्सी एफ ७० भने गत साता गुगलको डेटाबेसमा देखा परेको थियो।
आज फ्लिपकार्टले ग्यालेक्सी एफ ७० फाइभजीका लागि छुट्टै पृष्ठ सार्वजनिक गर्दै यो फोन भारतमा अक्टोबर १८ मा सार्वजनिक हुने जनाएको छ। यसको सुरुवाती मूल्य करिब २२५ अमेरिकी डलर हुनेछ।
यो फोनमा फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले, वाटरड्रप नच र कर्निङ गोरिल्ला ग्लास भिक्टसको सुरक्षा हुनेछ।
टेलिग्राफका अनुसार फोनमा एक्सिनोस १३३० चिपसेट, अप्टिकल इमेज स्टेबलाइजेसन सहितको ५० मेगापिक्सेल मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा-वाइड क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा र १३ मेगापिक्सेल सेल्फी क्यामेरा हुनेछ।
सामसङले अप्टिकल इमेज स्टेबलाइजेसन सहितको मुख्य क्यामेरालाई ‘नो शेक क्याम’ नाम दिएको छ। यसमा ५,००० एमएएच क्षमताको ब्याट्री हुनेछ, जसले २५ वाटको तारयुक्त चार्जिङ समर्थन गर्छ।
यो फोन ७.५ मिलिमिटर बाक्लो हुनेछ र धुलो तथा पानीका छिटाबाट सुरक्षित रहनेछ। यो ‘भिभिड भायोलेट’ र ‘बोल्ड ब्ल्याक’ गरी दुई रङमा उपलब्ध हुनेछ।
सफ्टवेयरका हिसाबले ग्यालेक्सी एफ ७० फाइभजी मा ‘सर्कल टु सर्च’, गुगल जेमिनाई, सामसङ वालेट, क्विक सेयर, भ्वाइस फोकस र नक्स सुरक्षा प्रणाली उपलब्ध हुनेछन्। फोनलाई भुक्तानी उपकरणको नजिक लैजाँदा भुक्तानी गर्न सकिने सुविधा पनि सामसङ वालेटमा हुनेछ।
सामसङले आफ्नो एफ सिरिजका फोन भारतमै डिजाइन र उत्पादन गरिने कुरामा पनि जोड दिएको छ।
प्रकाशित: ३ कार्तिक २०८३, मंगलवार