काठमाडौं ।
नासाले अत्यधिक चिसो र गर्मीमा पनि काम गर्न सक्ने ब्याट्री विकास गरिरहेको छ। भविष्यमा चन्द्रमामा सञ्चालन हुने अभियान, विशेषगरी आर्टेमिस मिसनमा प्रयोग गर्ने उद्देश्यले यस्तो ब्याट्री बनाइँदै छ।
पृथ्वीमा प्रयोग हुने अधिकांश इलेक्ट्रोनिक उपकरणमा लिथियम–आयन ब्याट्री प्रयोग हुन्छ। यस्ता ब्याट्रीमा तरल इलेक्ट्रोलाइट हुने भएकाले कम तापक्रममा त्यो जम्न सक्छ र ब्याट्रीमा क्षति पुग्न सक्छ। त्यस्तै, अत्यधिक गर्मीमा पनि यस्ता ब्याट्रीले राम्रोसँग काम गर्न सक्दैनन्।
चन्द्रमामा दिनको तापक्रम १०० डिग्री सेल्सियससम्म पुग्न सक्छ। त्यस्तै, चन्द्रमाको दक्षिणी ध्रुवमा रातको तापक्रम माइनस २०० डिग्री सेल्सियससम्म झर्न सक्छ। यस्तो चरम तापक्रममा अहिले प्रयोग भइरहेका ब्याट्री प्रविधि पर्याप्त नहुने भएकाले नासाले नयाँ प्रविधिमा काम गरिरहेको हो।
‘सोलिड पावर फर एक्स्ट्रिम इन्भाइरोमेन्ट एडाप्टेबिलिटी एन्ड रेजिलियन्स इन स्पेस’ (स्पियर्स) नामक परियोजनाअन्तर्गत नासाले तरलको सट्टा ठोस सिरेमिक वा पोलिमर पदार्थ प्रयोग गरेर ब्याट्री विकास गरिरहेको छ।
इन्ग्याजेटका अनुसार यी वैकल्पिक ब्याट्रीलाई पनि काम गर्नुअघि तताउनुपर्ने हुन्छ। तर, अहिलेसम्म परीक्षणका क्रममा अत्यधिक चिसोले तिनमा क्षति पुर्याएको छैन। साथै, लिथियम–आयन ब्याट्रीको तुलनामा यिनलाई उपयुक्त तापक्रममा राख्न कम ऊर्जा खर्च हुने ताप व्यवस्थापन प्रणाली आवश्यक पर्छ।
नासाले सार्वजनिक गरेको विवरणमा यस्तो ब्याट्री विकाससम्बन्धी थप जानकारी दिइएको छ। टोलीले विशेषगरी मंगल ग्रहको चरम तापक्रममा काम गर्न सक्ने ब्याट्री विकास गरिरहेको भए पनि यही प्रविधि भविष्यमा पृथ्वीमा प्रयोग हुने इलेक्ट्रोनिक उपकरणमा समेत उपयोगी हुन सक्ने सम्भावना छ।
प्रकाशित: ३० आश्विन २०८३, शुक्रबार