काठमाडौं ।
सामसङले गत जुलाईमा आफ्नो एआई स्मार्ट ग्लासबारे घोषणा गरेको थियो। कम्पनीले उक्त स्मार्ट ग्लासको प्रारम्भिक जानकारी सार्वजनिक गर्नुका साथै केही प्रयोगात्मक झलकसमेत देखाएको थियो। यद्यपि, ग्लास बजारमा आइसकेको छैन। पछिल्लो अपुष्ट जानकारीअनुसार सामसङले यसलाई नोभेम्बरमा सार्वजनिक गर्न सक्नेछ।
साम्मीगुरुका अनुसार सामसङका साझेदार कम्पनीहरू जेन्टल मोन्स्टर र वार्बी पार्करले तयार पारेका स्मार्ट ग्लासका विभिन्न डिजाइन सार्वजनिक भएका छन्। यससँगै ग्लासको हार्डवेयरसम्बन्धी विवरण पनि बाहिर आएको छ।
यसअघि सामसङले ग्लासमा एन्ड्रोइड एक्सआर अपरेटिङ सिस्टम र क्वालकमको स्न्यापड्रागन एआर१ जेन १ चिपसेट प्रयोग हुने जानकारी दिएको थियो। पछिल्लो विवरणअनुसार ग्लासमा २ जीबी र्याम र ६४ जीबी स्टोरेज हुनेछ। यसको ब्याट्रीले एकपटक चार्ज गर्दा नौ घण्टासम्म काम गर्ने बताइएको छ। चार्जिङ केस प्रयोग गर्दा ब्याट्रीको अवधि ७२ घण्टासम्म पुग्न सक्नेछ।
रोयटर्सका अनुसार ग्लासमा १२ मेगापिक्सेलको क्यामेरा हुनेछ, जसले ३० फ्रेम प्रतिसेकेन्डमा ३के भिडियो खिच्न सक्छ। यसमा चारवटा माइक्रोफोन र दुईवटा ओपन-इयर स्पिकर पनि हुनेछन्। ग्लासले गुगलको जेमिनाई एआईसँग काम गर्नेछ। यसले तस्बिर र आवाजमा आधारित निर्देशन बुझ्न सक्छ।
यसको सहायताले सन्देश पढेर सुनाउने, वास्तविक समयमै अनुवाद गर्ने र ह्वाइटबोर्डको तस्बिर खिचेर नोट्स एपमा राख्नेजस्ता काम गर्न सकिनेछ।
ग्लासमा आईपीएक्स४ सुरक्षा स्तर रहेको छ, जसले सामान्य वर्षाको पानीबाट जोगाउन सक्छ। तर, चार्जिङ केसमा यस्तो सुरक्षा स्तर छैन। यो ग्लास ग्यालेक्सी फोनमा मात्र सीमित नभई अन्य एन्ड्रोइड फोन र आईफोनसँग पनि प्रयोग गर्न सकिनेछ। यद्यपि, केही सुविधा सामसङका ग्यालेक्सी उपकरणमा मात्र उपलब्ध हुन सक्छन्। दक्षिण कोरियामा नेभर म्याप्सको समर्थनजस्ता क्षेत्रअनुसार फरक सुविधा पनि हुन सक्ने बताइएको छ।
सामान्य लेन्ससहित ग्लासको तौल ४१ ग्राम हुने बताइएको छ। डिजाइनअनुसार यसको तौल केही फरक हुन सक्छ।
जेन्टल मोन्स्टरले ग्लासका लागि छवटा फ्रेम डिजाइन तयार पारेको छ। ती डिजाइन विभिन्न रङ र लेन्स संयोजनसहित १६ संस्करणमा उपलब्ध हुनेछन्।
त्यस्तै वार्बी पार्करले एल्डेन, रिड र रेन नामका तीनवटा डिजाइन तयार पारेको छ। रेन जेट ब्ल्याक रङमा मात्र उपलब्ध हुनेछ भने एल्डेन र रिड गाढा हरियो (पाइन) र गाढा रातो (स्याडल) रङमा पनि उपलब्ध हुनेछन्। तीनवटै डिजाइन पारदर्शी वा गाढा लेन्समा उपलब्ध हुनेछन्। यी डिजाइनका कुल १० संस्करण हुने बताइएको छ।
उपलब्धताका विषयमा भने जेन्टल मोन्स्टरका डिजाइन दक्षिण कोरिया र अमेरिकामा बिक्री हुने बताइएको छ। वार्बी पार्करका डिजाइन भने सुरुवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुन सक्ने जनाइएको छ। अन्य देशमा बिक्री हुनेबारे जानकारी सार्वजनिक भएको छैन।
बजारमा आएपछि यी ग्लास सामसङ एक्सपेरियन्स स्टोरका साथै सम्बन्धित डिजाइनर कम्पनीका वेबसाइट र स्टोरबाट बिक्री गरिनेछ।
प्रकाशित: ३० आश्विन २०८३, शुक्रबार