काठमाडौं ।
इलाका प्रहरी कार्यालय तुलसीपुरलाई ‘बडी वर्न’ क्यामरा प्राप्त भएको छ। यसअघि प्रहरीसमक्ष ‘बडी वर्न’ क्यामेरा थिएन। जसले गर्दा शान्ति सुरक्षामा निकै समस्या पर्ने गरेको थियो।
बडी वर्न भन्नाले सामान्यतया हातमा बोक्नुनपर्ने शरीरमा नै टाँसेर हिँड्न मिल्ने क्यामरालाई जनाउँछ। दुवै हातले अरु काम गरिरहँदा पनि अन गरेर राखेको बडी वर्न क्यामराले काम गरिरहन्छ। आफूलाई केही सेटिङहरु मिलाउनुपरे सहजै टाँसेको ठाउँबाट ननिकालिकन नै मिलाउन सकिन्छ।
व्यस्त नाका तथा चौबाटोमा कार्यरत ट्राफिक प्रहरीले पनि प्राय: बडी वर्न क्यामरा नै भिरिरहेका हुन्छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले क्यामरा जडानपछि दोषी सहजै पत्ता लाग्ने बताए। गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा मोडेल कलेज तुलसीपुरले उक्त क्यामरा प्रदान गरेको हो। ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले मङ्गलबार उक्त क्यामरा प्रहरी नायब उपरीक्षक पराजुलीलाई प्रदान गरेका हुन्।
सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसीले अपराध तथा दुर्घटना न्यूनीकरणका लागि प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए।
नागरिक र प्रहरीबीच हुने अन्तरक्रियाको वास्तविक दृश्य तथा श्रव्य अभिलेख राख्न र सडक दुर्घटनालगायतका गतिविधिको प्रत्यक्ष प्रमाण सङ्कलन गर्न क्यामरा हस्तान्तरण गरिएको गोरखा ग्रुपका शैक्षिक निर्देशक केसीले बताए।
उनले प्रहरीलाई आवश्यक परेमा थप दुईवटा बडी वर्न क्यामेरा उपलब्ध गराउनेसमेत बताए। सुरक्षाकर्मीको पोसाकमा जडान गरिने बडी वर्न क्यामेराले ड्युटीका क्रममा हुने गतिविधि, घटनाक्रम तथा अडियो र भिडियो रेकर्ड गरी कार्यस्थलमा पारदर्शिता, जवाफदेहिता र नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुर्याउँछ।-रासस
प्रकाशित: २८ आश्विन २०८३, बुधबार