काठमाडौं ।
विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ प्यासेन्जर ३६० क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ।
‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने मूल सन्देशसहित सुरु गरिएको क्याम्पेनले यात्रुहरूलाई भाडा निर्धारणमा छनोटको स्वतन्त्रता प्रदान गर्नुका साथै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धतालाई जोड दिएको छ।
कम्पनीका अनुसार यात्रु र चालकबीचको आपसी सहमतिमा भाडा निर्धारण गर्ने अवधारणालाई क्याम्पेनको केन्द्रमा राखिएको छ। इनड्राइभ एपमार्फत यात्रुहरूले सुझाव गरिएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्छन्। नजिकै रहेका चालकहरूले उक्त प्रस्ताव स्वीकार गर्न वा आफ्नोतर्फबाट वैकल्पिक भाडा प्रस्ताव गर्न सक्छन्।
त्यसपछि यात्रुले प्रस्तावित भाडा, चालक आइपुग्ने अनुमानित समय, चालकको रेटिङ र सवारीसाधनका आधारमा उपयुक्त चालक छनोट गर्न सक्छन्। यात्रा सुरु हुनुअघि नै भाडा तय हुने भएकाले यात्रुहरूलाई तिर्नुपर्ने रकमबारे पूर्वजानकारी प्राप्त हुन्छ।
क्याम्पेनले विशेषगरी दैनिक आवतजावतका क्रममा यात्रुहरूले प्राथमिकता दिने दुई पक्षलाई जोड दिएको छ—भाडाको पूर्वनिश्चितता र सवारीको छिटो उपलब्धता। एपमा चालक आइपुग्ने अनुमानित समय अग्रिम रूपमा हेर्न सकिने भएकाले यात्रुहरूले आफ्नो आवश्यकता र समयअनुसार चालक छनोट गर्न सक्छन्।
इनड्राइभको यो प्रणालीले चालकहरूलाई समेत सवारी अनुरोध र भाडासम्बन्धी निर्णयमा स्वतन्त्रता प्रदान गर्छ। चालकहरूले आफूलाई उपयुक्त लागेका अनुरोध स्वीकार गर्न वा प्रस्तावित भाडामा असहमति भए वैकल्पिक रकम प्रस्ताव गर्न सक्छन्।
यसरी यात्रु र चालक दुवैको सहमतिमा भाडा निर्धारण हुने प्रक्रियालाई क्याम्पेनले ‘दुवैको चित्त बुझ्छ’ भन्ने सन्देशमार्फत प्रस्तुत गरेको छ।
इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले भने, “काठमाडौंका यात्रुहरूका लागि सवारी सेवा प्रयोग गर्दा भाडाको पूर्वजानकारी र समयमै सवारी उपलब्ध हुनु महत्त्वपूर्ण पक्ष हुन्। आपसी सहमतिमा भाडा निर्धारण गर्ने व्यवस्था इनड्राइभको सुरुवातदेखि नै प्रमुख विशेषता रहँदै आएको छ। यसले यात्रुहरूलाई भाडा छनोटमा स्वतन्त्रता दिनुका साथै चालकहरूलाई पनि आफ्नो आम्दानीसम्बन्धी निर्णयमा सहभागी हुने अवसर प्रदान गर्छ। प्यासेन्जर ३६० क्याम्पेनमार्फत हामी नेपालका यात्रुहरूलाई सहज, भरपर्दो र तिरेको रकमअनुसार उचित मूल्य प्राप्त हुने सवारी सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै छौँ।”
इनड्राइभकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री स्वस्तिमा खड्काले भनिन्, “इनड्राइभको मलाई मनपर्ने पक्ष भनेकै यसको पारदर्शिता हो। यहाँ यात्रा सुरु हुनुअघि नै यात्रु र चालक दुवैको सहमतिमा भाडा तय हुन्छ। यसले यात्राको अन्त्यमा भाडालाई लिएर कुनै असमझदारी हुने सम्भावना कम गर्छ। काठमाडौंजस्तो व्यस्त सहरमा भाडाको चिन्ता नगरी ढुक्कसँग यात्रा गर्न पाउनु आफैंमा महत्त्वपूर्ण कुरा हो। मेरो विचारमा ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने सन्देशले यही आपसी सहमति र विश्वासलाई दर्शाउँछ।”
यस क्याम्पेनअन्तर्गत इनड्राइभले ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का अभिनीत नयाँ भिडियो समेत सार्वजनिक गरेको छ। नेपाली मौलिक संस्कृति झल्काउने संगीत र स्थानीय परिवेशलाई समेटेर तयार पारिएको भिडियोमार्फत यात्रु र चालकबीचको आपसी सहमति तथा सन्तुष्टिको सन्देश प्रस्तुत गरिएको छ।
नेपाली दर्शकको दैनिक जीवनशैली र सांस्कृतिक भावनासँग जोडिने गरी तयार गरिएको भिडियोले क्याम्पेनको मुख्य सन्देशलाई थप प्रभावकारी रूपमा सम्प्रेषण गर्ने अपेक्षा कम्पनीले गरेको छ।
प्रकाशित: २६ आश्विन २०८३, सोमबार