काठमाडौं ।
-सदीक्षा आचार्य
दशैं-तिहार तथा छठ पर्वलाई लक्षित गर्दै स्मार्ट फोनको व्यापार बढ्ने अपेक्षा गरे पनि यस वर्ष बजारमा खासै चहलपहल भने देखिएको छैन।
स्मार्ट फोनको मूल्यमा भएको वृद्धि र खरिद क्षमतामा परेको असरका कारण चाडपर्वको समयमा समेत व्यापार सुस्त रहेको व्यवसायीहरु बताउँछन्।
न्यूरोडमा रहेको ताम्राकार कम्प्लेक्समा स्मार्ट फोनको व्यवसाय गर्दै आएका सी मण्डलका अनुसार गत वर्षको तुलनामा यस वर्ष स्मार्ट फोनको व्यापार ३० देखि ३५ प्रतिशतले घटेको छ। विगतका वर्षमा दशैं सुरु हुनुभन्दा १ं० दिन अघिदेखि ग्राहकको चाप बढ्ने गरे पनि यस वर्ष अहिलेसम्म सोचेजस्तो व्यापार हुुन नसकेको उनले बताए।
उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्राय सबै कम्पनीका स्मार्ट फोनको मूल्य करिब २०–२५ प्रतिशतले बढेको छ। चिप, प्रोसेसर तथा एआई फिचरहरुका कारण मोबाइलको मूल्य बढेको उनको भनाई छ।
उनले भने, ‘मूल्य बढ्दा विशेष गरेर मध्यम आय भएका ग्राहकलाई नयाँ स्मार्ट फोन खरिद गर्न कठिन भएको छ। पहिले ३० हजार पर्ने फोन अहिले ४५ हजार सम्म पुगेको छ। दुई लाखको फोन किन्ने ग्राहकलाई १०–२० हजार मूल्य बढेर त्यति फरक पर्दैन तर सामान्य आम्दानी भएका ग्राहकलाई ठूलो असर पर्छ।’
मण्डलका अनुसार यस वर्ष चाडपर्व लक्षित विशेष छुट तथा योजनाहरु पनि सोचेजस्तो आकर्षक छैनन्। पुरानो मोबाइल साटेर नयाँ खरिद गर्दा ३ हजार, ५ हजार र १० हजार एक्चेन्ज बोनस उपलब्ध हुने योजना रहेको उनले बताए।
ईएमआई अर्थात् किस्ताबन्दी सुविधाले ग्राहकलाई मोबाइल खरिद गर्न सहज बनाएको उनले बताए। उनका अनुसार स्मार्टफोन किस्ताबन्दीमा खरिद गर्दा सुरुमा ४० प्रतिशत रकम डाउन पेमेन्ट गर्नुपर्ने र बाकीँ ६० प्रतिशत रकम १२ वा २४ महिनामा तिर्न सकिने व्यवस्था रहेको छ।
मुल्यवृद्धि तथा आयात भन्सार दरमा हुने परिवर्तनले मोबाइलको मूल्य र व्यापारमा प्रभाव परेको उनी बताउँछन्। यस वर्षको व्यापार आफूहरुले सोचेजस्तो नभएको र अबका पाँच दिनमा कारोबार राम्रो होला कि भन्नेमा आशावादी रहेको उनले थपे।
न्यूरोडका अर्का व्यपारी उज्ज्वल शर्माले पनि गत वर्षको तुलनामा यस वर्ष व्यापार घटेको बताए। उनका अनुसार गत वर्षको तुलानामा यस वर्ष ५० प्रतिशतले कम भएको छ। उनका अनुसार बजारमा अहिले नयाँभन्दा पुरानो फोनको माग बढेको छ।
शर्माका अनुसार चिपको मूल्य बढेसँगै स्मार्टफोन महँगिएका छन्। कम्पनीहरुले क्यासब्याक अफरहरु ल्याए पनि फोनको मूल्य उच्च भएकाले ग्राहकलाई आकर्षित गर्न नसकेको उनले बताए।
त्यस्तै ताम्राकार कम्प्लेक्सकै अर्का व्यापारी बिराज केसीले पनि यस वर्ष स्मार्ट फोनको ब्यापार सामान्य रहेको बताए। उनका अनुसार गत वर्षहरुको तुलनामा यस वर्ष व्यापार ५० प्रतिशतले घटेको छ। बाढी पहिरो तथा स्मार्ट फोनको मूल्य वृद्धिका कारण यस वर्ष बजार प्रभावित भएको उनको भनाई छ।
‘फोनको मूल्य बढेको छ तर ग्राहकलाई सस्तो फोन चाहिएको छ। त्यसकारण यस वर्ष ठूलो परिवर्तन देखिएको छ,’ केसीले भने। विगतका वर्षहरुमा जस्तो यस वर्ष व्यापारबाट धेरै अपेक्षा नराखेको उनी बताउछन्।
झापा घर भएका डिल्लीराम अधिकारी दशैं अफरहरु केही होला भन्ने आशामा फोन खरिद गर्न आएका भेटिए। उनी दशैं तिहारको समयमा अरु बेलाभन्दा अफरहरु पाइने आशा बोकेर चाडपर्वको समयमा आफ्ना छोरा र छोरीलाई फोन किन्न आएका हुन्।
उनले भने, ‘पहिलेको भन्दा अहिले मूल्यहरु बढेको छ। यसभन्दा अगाडि सधैं पूरा रकम तिरेर फोन किन्ने गर्थें, अहिले मूल्य वृद्धिले गर्दा किस्ताबन्दीमा खरिद गर्ने सोचेको छु।’
त्यस्तै ललितपुरको पाटनबाट फोन खरिद गर्न आएकी उषा राई यस वर्ष फोनको मूल्य बढेका कारण आफूसँग पर्यात पैसा नभएकाले एक मुस्ट पूरा रकम तिरेर किन्न नसक्ने देखिएकाले किस्ताबन्दी मार्फत खरिद गर्नुपर्ने देखिएको उनले प्रस्ट्याइन्।
प्रकाशित: २७ आश्विन २०८३, मंगलवार