काठमाडौं ।
एमजीको नयाँ विद्युतीय एसयूभी ‘एमजी हेक्टर टमहक’ नेपाली बजारमा सार्वजनिक भएको छ।
नेपालका लागि एमजीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले सात सिट क्षमताको यो विद्युतीय एसयूभी शनिबार एक कार्यक्रमका बिच नेपाली बजारमा अनावरण गरेको छ।
भारतमा उत्पादित एमजी टमहकमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर र ६९.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक छ। यसले ३१० न्युटन मिटर टर्क उत्पादन गर्छ। एकपटकको चार्जमा ५१७ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ।
यसमा ९० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सुविधा छ। उक्त चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३५ मिनेट लाग्ने कम्पनीले जनाएको छ। गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा लिन सक्ने पनि कम्पनीको दाबी छ।
एमजीको एडाप्ट प्लेटफर्ममा आधारित टमहक ईभीको लम्बाइ ४ हजार ७४५ एमएम, चौडाइ १ हजार ८५० एमएम र उचाइ १ हजार ७७० एमएम छ। यसको ह्विलबेस २ हजार ८१० एमएम र ग्राउन्ड क्लियरेन्स २३० एमएम छ।
उच्च ग्राउन्ड क्लियरेन्सका कारण नेपाली सडकमा प्रयोग गर्न सहज हुने अपेक्षा कम्पनीले गरेको छ।
गाडीको भित्री भागमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ। वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सुविधा उपलब्ध यस गाडीमा १० ओटा स्पिकरयुक्त इन्फिनिटी साउन्ड सिस्टम पनि राखिएको छ।
त्यस्तै, अगाडिका सिटमा भेन्टिलेसन सुविधा, प्यानोरामिक सनरुफ, २५६ रङमा परिवर्तन गर्न सकिने एम्बियन्ट लाइटिङ र विभिन्न क्याबिन मुड उपलब्ध छन्।
सुरक्षाका लागि यसमा छओटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामरा, पार्किङ सेन्सर र टायर प्रेसर मोनिटरिङ सिस्टम राखिएका छन्।
यसको उच्च भेरियन्टमा लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध छ। यसअन्तर्गत अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट र एडाप्टिभ क्रुज कन्ट्रोलजस्ता सुविधा छन्।
कम्पनीले एमजी हेक्टर टमहकको बजार मूल्य ५७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ।
प्रकाशित: २५ आश्विन २०८३, आईतवार