काठमाडौं ।
स्पेसएक्सले भारतमा स्टारलिंक सेवा सुरु गर्न संघर्ष गरिरहेका बेला एलन मस्कले अर्बपति मुकेश अम्बानीमाथिको आलोचना तीव्र बनाएका छन्। उनले अम्बानीलाई व्यङ्ग्य गर्दै भारतको “प्रधानमन्त्री” भनेका छन्।
यसमार्फत उनले अम्बानीको भारत सरकारमाथि अत्यधिक प्रभाव रहेको सङ्केत गर्नुका साथै आफ्नो स्याटेलाइट इन्टरनेट सेवालाई प्रतिस्पर्धा गर्नबाट रोकिरहेको आरोप लगाएका छन्।
शुक्रबार मस्कले एक्समा पोस्ट गर्दै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानीको आलोचना जारी राखे। उनले स्टारलिंकले इन्टरनेट पहुँच नभएका क्षेत्रमा सेवा पुर्याउन, बालबालिकालाई सिक्ने थप अवसर दिन र साना व्यवसायलाई विश्वभरका ग्राहकसम्म पुग्न सहयोग गर्न सक्ने बताएका छन्।
“स्वाभाविक रूपमा, तपाईं भारतका महान् जनताको एकाधिकारवादी शोषण कायम राख्न चाहनुहुन्छ। तर पनि स्टारलिंकलाई प्रतिस्पर्धा गर्न अनुमति दिनेबारे विचार गर्नुहुन्छ?” मस्कले लेखेका छन्।
रिलायन्स इन्डस्ट्रिजको दूरसञ्चार शाखा रिलायन्स जियोले यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको तत्काल जवाफ दिएको छैन।
मस्कको पछिल्लो टिप्पणी यसै साताको सुरुमा उनले भारतमा स्टारलिंकको सेवा सुरु हुन नदिन केही नाम नखुलाइएका “ओलिगार्क” अर्थात् अत्यधिक आर्थिक र राजनीतिक प्रभाव भएका व्यक्तिहरूले आफ्नो व्यावसायिक हित जोगाउन अवरोध गरिरहेको आरोप लगाएपछि आएको हो।
टेकक्रञ्चका अनुसार भारतको सञ्चार मन्त्रालयले भने उक्त आरोप अस्वीकार गर्दै स्याटेलाइट सञ्चारसम्बन्धी देशको नियामक संरचना “निष्पक्ष र विभेदरहित” रहेको बताएको थियो। त्यसपछि बिहीबार मस्कले एक्समा अर्को पोस्ट गर्दै अम्बानीको प्रभावमाथि प्रश्न उठाएका थिए। उनले लेखेका थिए, “के अम्बानी नै भारतका वास्तविक मालिक हुन्?”
स्पेसएक्सले भारतमा स्टारलिंक सेवा सुरु गर्न वर्षौंदेखि प्रयास गर्दै आएको छ। गत वर्ष कम्पनीले भारतको दोस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक भारती एयरटेल र अम्बानीको रिलायन्स जियोसँग सेवा वितरणसम्बन्धी सम्झौता पनि गरेको थियो।
आवश्यक अनुमति पाएपछि यी कम्पनीमार्फत स्टारलिंक सेवा उपलब्ध गराउने योजना थियो। तर, महत्त्वपूर्ण नियामकीय स्वीकृति प्राप्त गरिसके पनि स्टारलिंकले भारतको नयाँदिल्लीबाट व्यावसायिक सेवा सञ्चालन गर्ने अन्तिम अनुमति पाएको छैन।
बिहीबार जारी विज्ञप्तिमा भारतीय सञ्चार मन्त्रालयले स्टारलिंक र अनुमति प्राप्त अन्य दुई स्याटेलाइट सेवा प्रदायकको सुरक्षा मूल्याङ्कन भइरहेको जनाएको थियो। स्याटेलाइट स्पेक्ट्रम प्राप्त गर्नुअघि यो प्रक्रिया पूरा गर्नुपर्ने मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार तीनवटै कम्पनी “मोटामोटी एउटै नियामकीय चरणमा” छन्। यसले स्टारलिंकलाई मात्र लक्षित गरिएको भन्ने मस्कको सङ्केतलाई अस्वीकार गरेको छ।
जियो र एयरटेलले पनि भारतमा आफ्ना स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न खोजिरहेका छन्। जियोको लक्जेम्बर्गस्थित एसईएससँग संयुक्त लगानीको कम्पनी छ। एयरटेल भने भारतमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने प्रयासमा रहेको युटेलस्याट वनवेबको प्रमुख सेयरधनी हो।
एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेको विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारत मस्कका लागि ठूलो बजार हो। तर, त्यहाँ व्यवसाय विस्तार गर्न अम्बानीजस्ता प्रभावशाली व्यवसायीसँग समन्वय गर्नुपर्ने हुन्छ। अम्बानीको रिलायन्स समूह भारतको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायकको स्वामित्वमा छ र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारसँग ठूला परियोजनामा सहकार्य गर्दै आएको छ।
स्टारलिंकको सेवा सुरु हुन ढिलाइ भइरहेका बेला मस्कले भारतमा टेस्लाको व्यवसाय विस्तारमा पनि चुनौती सामना गरेका छन्। लामो प्रतीक्षापछि विद्युतीय सवारी निर्माता टेस्लाले गत वर्ष भारतमा आफ्नो व्यवसाय सुरु गरेको थियो।
तर, इलेक्ट्रेकले उल्लेख गरेको तथ्याङ्कअनुसार पहिलो १२ महिनामा कम्पनीले जम्मा ६९९ वटा सवारीसाधन दर्ता गरेको थियो। उच्च आयात शुल्कका कारण भारतमा मोडल वाईको सुरुआती मूल्य अमेरिकाको तुलनामा झन्डै दोब्बर पुगेको थियो। टेस्लाले यसै वर्षको सुरुमा मूल्य घटाए पनि भारतमा उसका सवारीसाधन अझै अमेरिकाको तुलनामा निकै महँगा छन्।
मस्कको पछिल्लो आलोचनाअघि पनि भारतमा स्याटेलाइट स्पेक्ट्रम कसरी वितरण गर्ने भन्ने विषयमा स्टारलिंक र अम्बानीको रिलायन्स जियोबीच विवाद भएको थियो। मस्कको कम्पनीले प्रशासनिक प्रक्रियामार्फत स्पेक्ट्रम वितरण गर्नुपर्ने पक्ष लिएको थियो भने जियोले लिलामीमार्फत वितरण गर्नुपर्ने माग गरेको थियो।
अन्ततः नयाँदिल्लीले प्रशासनिक प्रक्रियामार्फत स्पेक्ट्रम वितरण गर्ने निर्णय गरेको थियो र स्टारलिंकलाई पनि यही प्रक्रियाबाट स्पेक्ट्रम उपलब्ध गराउने निर्णय गरेको थियो।
भारतमा स्टारलिंकको सेवा सुरु हुने विषय अझै अनिश्चित छ। शुक्रबार भारतका दूरसञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले मस्कको आरोपको खण्डन गर्दै देशले “कुनै पनि क्षेत्रमा एकाधिकार हुन दिँदैन” भनेका छन्।
प्रकाशित: २५ आश्विन २०८३, आईतवार