काठमाडौं ।
चीनले आफ्नो ‘एआई प्लस’ कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्ने जनाएको छ। यसअन्तर्गत परम्परागत उद्योगको स्तरोन्नतिमा एआई प्रयोग गर्नुका साथै इन्टरनेटसँग जोडिने नयाँ ऊर्जा सवारीसाधन, एआईयुक्त फोन तथा कम्प्युटर र मानवरूपी रोबोटजस्ता उत्पादनको विकास र प्रयोग विस्तार गरिनेछ।
चीनले एआईको सैद्धान्तिक अनुसन्धान र मुख्य प्रविधिमा सफलता हासिल गर्ने, कम्प्युटिङ क्षमता, एल्गोरिदम र तथ्यांकको उपलब्धता बढाउने तथा उद्योगमा एआई प्रयोगका लागि राष्ट्रिय परीक्षण केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ।
रोयटर्सका अनुसार एआई सुरक्षित, भरपर्दो र नियन्त्रणयोग्य बनाउन प्रविधिको निगरानी, जोखिमबारे पूर्वचेतावनी र आपत्कालीन प्रतिकार्य प्रणाली पनि स्थापना गरिनेछ।
निर्देशिकामा मुख्य प्रविधिमा मौलिक तथा विद्यमान प्रविधिलाई आमूल परिवर्तन गर्न सक्ने नवीनतामा जोड दिने पनि उल्लेख छ। महत्त्वपूर्ण उत्पादनको विकास र प्रयोगलाई तीव्रता दिन चीनको राज्य-नेतृत्वको ‘नयाँ राष्ट्रव्यापी प्रणाली’ उपयोग गरिनेछ।
यससँगै अधिकारीहरूलाई वास्तविक अर्थतन्त्रलाई प्राथमिकता दिन र लगानीका कारण कृत्रिम मूल्यवृद्धि हुने अवस्था, औद्योगिक आधार कमजोर हुने, जथाभावी लगानी गर्ने तथा उच्च प्रविधिका क्षेत्रमा हुलमुलमा लगानी गर्ने प्रवृत्तिबाट बच्न निर्देशन दिइएको छ।
‘नयाँ उत्पादक शक्तिको विकास’ का नाममा नीतिको गैरकानुनी वा अनुचित दुरुपयोग गर्न कडाइका साथ रोक लगाइने निर्देशिकामा उल्लेख छ। जथाभावी लगानीका कारण ठूलो नोक्सानी गराउने अधिकारीलाई जवाफदेही बनाइने पनि जनाइएको छ।
निर्देशिकाले सुरक्षा सुनिश्चित गर्दै न्यून उचाइमा सञ्चालन हुने आर्थिक गतिविधिको व्यवस्थित र स्वस्थ विकासमा पनि जोड दिएको छ। यस क्षेत्रमा नागरिक ड्रोन, हवाई ट्याक्सी, साना विमान र तिनसँग सम्बन्धित सेवाहरू पर्छन्।
प्रकाशित: २५ आश्विन २०८३, आईतवार