काठमाडौं ।
गुगलको निःशुल्क खाता प्रयोग गर्नेहरूले अक्टोबर ९ देखि जेमिनी फ्ल्याश र प्रो मोडल प्रयोग गर्न नपाउने भएका छन्।
कम्पनीले आफ्नो सपोर्ट पेजमा जेमिनी एप र वेबसाइटमा गरिने परिवर्तनबारे जानकारी दिएको हो। यसले सदस्यता नलिएका प्रयोगकर्ताले एआई च्याटबट प्रयोग गर्ने तरिकामा असर पार्न सक्ने देखिएको छ।
अहिले एपको माथिल्लो भागमा रहेको ड्रपडाउन मेनु वा डेस्कटपमा टेक्स्ट बक्सको छेउमा तीनवटा विकल्प देखिन्छन्। तर केही दिनपछि जेमिनी मा गरिएका सबै निःशुल्क अनुरोधमा गुगल को कम खर्चिलो मोडल फ्ल्याश-लाइट प्रयोग हुनेछ। फ्ल्याश, लाइटभन्दा बढी क्षमतायुक्त मोडल हो भने प्रो लाई जटिल तर्क र कठिन कामका लागि डिजाइन गरिएको हो।
इन्ग्याजेटका अनुसार गुगल एआई प्लस प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि जेमिनी ३.१ प्रो मोडलको पहुँच गुमाउनेछन्। अमेरिकामा महिनाको ५ डलर पर्ने गुगल एआई प्लस कम्पनीको सबैभन्दा सस्तो सदस्यता योजना हो।
गुगलका अनुसार प्रो जटिल गणित र कोडिङसम्बन्धी प्रश्न समाधान गर्न राम्रो छ। यसले अन्य मोडलको तुलनामा टेक्स्ट, फाइल, तस्बिर र भिडियो बुझ्न अझ राम्रो क्षमता राख्छ। अर्थात्, यदि तपाईं कोडिङका लागि वा अध्ययनको सहयोगीका रूपमा जेमिनी प्रयोग गर्नुहुन्छ र धेरैवटा कागजात तथा अन्य सामग्री बुझाउनुपर्ने हुन्छ भने गुगल एआई प्रो योजनाका लागि पैसा तिर्नुपर्ने हुन सक्छ।
गुगल एआई प्रो को शुल्क महिनाको २० डलर छ भने बढी प्रयोग सीमा भएको एआई अल्ट्रा का लागि कम्तीमा महिनाको १०० डलर तिर्नुपर्नेछ।
यी परिवर्तनसँगै गुगल ले प्रत्येक मोडलका लागि ‘एफर्ट लेबल’ विकल्प पनि थप्दैछ। प्रयोगकर्ताले कम, मध्यम र उच्चमध्ये विकल्प रोज्न सक्नेछन्, जसले काम पूरा गर्न मोडलको क्षमताको स्तर निर्धारण गर्नेछ। स्तर जति उच्च हुन्छ, उत्तर त्यति नै विस्तृत हुनेछ। तर यसले प्रयोग सीमाबाट पनि बढी हिस्सा प्रयोग गर्नेछ। एआई अल्ट्रा सदस्यता लिने प्रयोगकर्ताले जेमिनी को अधिकतम क्षमता प्रयोग गर्नुपर्ने अवस्थामा डीप थिङ्क विकल्प पनि पाउनेछन्।
एआई अल्ट्रा सदस्यले जेमिनी ४ आर्गन सार्वजनिक रूपमा उपलब्ध भएपछि त्यसमा पनि पहुँच पाउनेछन्। अहिले यो गुगल को सरकार र विश्वसनीय साझेदारहरूका लागि रहेको फेयरविण्ड प्रोग्रामका सदस्यका लागि मात्र उपलब्ध छ।
प्रकाशित: २३ आश्विन २०८३, शुक्रबार