काठमाडौं ।
अर्बपति जेफ बेजोसले स्थापना गरेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले चन्द्रमामा निर्माण गरिने आगामी आधार शिविरका लागि सौर्य विद्युत् उपलब्ध गराउने उद्देश्यले बनाइएको ‘पावर टावर’ सार्वजनिक गरेको छ।
कम्पनीले सेप्टेम्बर २५ मा एक्समा टावरको एनिमेसन सार्वजनिक गरेको थियो। भिडियोमा उक्त उपकरण चन्द्रमामा अवतरण गरेपछि चन्द्रमाको सतहबाट माथि उठ्ने गरी जडान भएको देखाइएको छ।
“हाम्रो पावर टावर २० मिटर अग्लो, ठाडो रूपमा जडान गर्न सकिने सौर्य प्यानल प्रणाली हो, जसले चन्द्रमाको दक्षिणी ध्रुवमा मुन बेस सञ्चालनका लागि १० किलोवाटभन्दा बढी विद्युत् उपलब्ध गराउनेछ,” ब्लु ओरिजिनले आफ्नो पोस्टमा लेखेको छ।
स्पेसडटकमका अनुसार एक्सको पोस्टमा राखिएको युट्युब भिडियोमा सन् २०२६ जुलाई २२ मा पृथ्वीमै गरिएको यसको वास्तविक परीक्षण देखाइएको छ। क्यामेराको तल्लो स्थानबाट खिचिएको भिडियोमा आधारबाट एउटा खम्बा माथितर्फ उठेको र त्यसपछि बीचबाट विभिन्न हातजस्ता संरचना फैलिँदै सौर्य प्यानलहरू तलतर्फ खुल्दै गएको देखिन्छ।
“यसको मोड्युलर संरचनाले भविष्यका भू-सतही नेटवर्कलाई सहयोग गर्नेछ र ल्यान्डरबाट बाहिर आवश्यक पर्ने उपकरणसम्म विद्युत् पुर्याउन सक्नेछ,” ब्लु ओरिजिनले आफ्नो पोस्टमा लेखेको छ।
पावर टावर यसअघि विकास गरिएको ‘लुनार एरे मास्ट एन्ड पावर सिस्टम’ (एलएएमपीएस) नामक प्रविधिको विकसित रूप देखिन्छ। ब्लु ओरिजिनको सहायक कम्पनी हनीबी रोबोटिक्सले विकास गरेको उक्त प्रणालीको सन् २०२४ मा ह्युस्टनस्थित नासाको जोन्सन स्पेस सेन्टरमा परीक्षण गरिएको थियो।
हनीबी रोबोटिक्स नासाको ‘भर्टिकल सोलार एरे टेक्नोलोजी’ (भीस्याट) परियोजनाअन्तर्गत काम गरिरहेका कम्पनीमध्ये एक हो। यस परियोजनाले भविष्यमा चन्द्रमामा दीर्घकालीन रूपमा मानव तथा अन्य गतिविधि सञ्चालन गर्न आवश्यक विद्युत् उत्पादन गर्ने सौर्य प्रणाली विकास गरिरहेको छ।
एक्स पोस्टमा पावर टावर चन्द्रमाको दक्षिणी ध्रुवमा सञ्चालनका लागि प्रयोग हुने उल्लेख छ। ब्लु ओरिजिनले यसलाई नासाले ‘आर्टेमिस’ कार्यक्रमअन्तर्गत निर्माण गर्ने योजनामा रहेको चन्द्र आधार शिविरको एक हिस्साका रूपमा प्रयोग गर्ने योजना बनाएको देखिन्छ।
नासाको मुन बेस परियोजना अहिले पहिलो चरणमा छ, जुन सन् २०२९ सम्म चल्नेछ। हालको समयतालिकाअनुसार चन्द्र आधार शिविर सन् २०३२ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
प्रकाशित: २१ आश्विन २०८३, बुधबार