काठमाडौं ।
नेपालमा आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७६ लाख ८९ हजार ५० मा आइपुगेको छ। हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ मसान्तसम्मको तथ्याङ्कमा यो आँकडा समावेश छ।
यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो।
अघिल्लो महिना यो आँकडा २ करोड ७७ लाख २८ हजार १७० रहेको थियो। तुलनात्मक रुपमा हेर्दा अघिल्लो महिनाभन्दा भदौमा यो सङ्ख्या ३९ हजार १२० ले घटेको छ।
२०८३ भदौ महिनाको समग्र २ करोड ७६ लाख ८९ हजार ५० ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ५३ लाख ४६ हजार ८६९ रहेको छ।
यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ६ लाख ४६ हजार ६ तथा फोरजीका १ करोड ४७ लाख ८६३ समावेश छन्।
तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड, २३ लाख, ४२ हजार १८१ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता ९५ हजार ४०३ र फोरजी १ करोड २२ लाख ४६ हजार ७७८ रहेका छन्।
फोरजी
टेलिकमले थप्यो, एनसेलले गुमायो
साउन मसान्तको तुलनामा २०८३ भदौ मसान्तसम्म नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक केही थपेको छ।
फोरजीका हकमा १ महिनामा नेपाल टेलिकमले १५ हजार ९८१ ग्राहक थपेको छ। साउन मसान्तसम्म नेपाल टेलिकमका फोरजी ग्राहक १ करोड ४६ लाख ८४ हजार ८८२ थिए भने भदौमा आइपुग्दा यो सङ्ख्या १ करोड ४७ लाख ८६३ पुगेको छ।
एनसेलले भने एक महिनामा १ लाख ४६ हजार ७४ ग्राहक गुमाएको प्रतिवेदनले देखाएको छ। साउन मसान्तसम्म एनसेलका फोरजी ग्राहक १ करोड २३ लाख ९२ हजार ८५२ थिए भने भदौ मसान्तसम्म आइपुग्दा घटेर यो सङ्ख्या १ करोड २२ लाख ४६ हजार ७७८ पुगेको छ।
थ्रीजी
टेलिकमले गुमायो र एनसेलले थप्यो
२०८३ भदौ महिनासम्ममा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ४ हजार ४३० गुमाएको छ। हाल नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ६ लाख ४६ हजार ६ रहेका छन्। यो आँकडा साउन मसान्तसम्म ६ लाख ५० हजार ४३६ रहेको थियो।
एनसेलले ६२९ ग्राहक थप्दै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ९५ हजार ४०३ मा पुर्याएको छ। यो आँकडा साउन मसान्तसम्म ९४ हजार ७७४ रहेको थियो।
समग्रमा हेर्दा एक महिनामा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता केही घटेका छन्। तीमध्ये नेपाल टेलिकमले फोरजीमा थपेको र थ्रीजीम गुमाएको साथै एनसेलले थ्रीजीमा ग्राहक थपेको र फोरजी गुमाएको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: १९ आश्विन २०८३, सोमबार