जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

  • Technology Khabar | १७ आश्विन २०८३, शनिबार
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ।

यससँगै स्याकम्यान नेपालको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन क्षेत्रमा प्रवेश गरेको हो।

एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि उपयुक्त रहेको छ भने एक्स५०००ई इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफ–रोड सञ्चालनका लागि डिजाइन गरिएको छ।

दुवै मोडलमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेनका साथै फास्ट चार्जिङ क्षमता, रिजेनेरेटिभ ब्रेकिङ तथा इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली जस्ता विशेषता रहेका छन्।

शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले भनिन, ‘स्याकम्यानसँगको हाम्रो साझेदारीले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधानहरू ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ। आगामी दिनमा यस सहकार्यलाई थप विस्तार गर्दै व्यावसायिक यातायात क्षेत्रमा थप अवसरहरू सिर्जना गर्न हामी तत्पर छौं।’

जगदम्बा मोटर्स र स्याकम्यानबीचको सहकार्यबारे बोल्दै सान्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका साउथ एसिया जनरल म्यानेजर स्यान्डर्स लीले भने, ‘नेपाल विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजार हो। शंकर ग्रुप र जगदम्बा मोटर्ससँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं। यस सहकार्यमार्फत नेपाली बजारमा भरपर्दो र प्रविधिमा आधारित हेभी–ड्युटी समाधानहरू ल्याउने हाम्रो लक्ष्य छ।’

स्याकम्यान एक्स५०००ई का दुवै मोडलमा विद्युतीय पावरट्रेन प्रविधिसँगै चालकको आराम र सञ्चालन प्रभावकारितालाई ध्यानमा राखिएका विभिन्न सुविधाहरू समावेश छन्। यी सवारीसाधनमा एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ तथा ठूलो इन्स्ट्रुमेन्ट डिस्प्ले लगायत हेभी–ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक सुरक्षा तथा नियन्त्रण प्रणालीहरू उपलब्ध छन्।

स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकिएको छ भने स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ तोकिएको छ।

यी दुई मोडलको आगमनसँगै आफ्नो व्यावसायिक सवारीसाधन पोर्टफोलियोलाई विद्युतीय हेभी–ड्युटी सेग्मेन्टमा विस्तार गर्दै नेपालको यातायात, निर्माण, खानी तथा औद्योगिक क्षेत्रका लागि नयाँ विद्युतीय मोबिलिटी समाधानहरू प्रस्तुत गरेको कम्पनीको बुझाइ छ।

प्रकाशित: १७ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...