हुन्डाईले चीनका लागि विशेष रूपमा तयार पारेको ‘आयोनिक भी’ इलेक्ट्रिक सेडान सार्वजनिक

  • Technology Khabar | १६ आश्विन २०८३, शुक्रबार
हुन्डाईले चीनका लागि विशेष रूपमा तयार पारेको ‘आयोनिक भी’ इलेक्ट्रिक सेडान सार्वजनिक

काठमाडौं ।

हुन्डाई मोटरको चिनियाँ संयुक्त उद्यम ‘बेइजिङ हुन्डाई’ ले चीनको इलेक्ट्रिक सेडान बजारमा प्रतिस्पर्धा गर्नका लागि आकर्षक सुरुवाती मूल्य र विभिन्न ‘ट्रिम’ (भेरियन्ट) विकल्पसहित ‘आयोनिक भी’ (Ioniq V) सार्वजनिक गरेको छ।

यो मध्यम आकारको सेडान मंगलबारदेखि बिक्रीमा आएको छ। यसका ५ ओटा भेरियन्टहरू सीमित अवधिका लागि ९९,९०० युआन (१४,८२० अमेरिकी डलर) देखि १,३१,९०० युआनसम्मको मूल्यमा उपलब्ध छन्।

यसको सिफारिस गरिएको खुद्रा मूल्य १,०९,९०० युआनदेखि १,३९,९०० युआनको बीचमा छ भने भेरियन्टअनुसार सीमित अवधिको ‘लन्च डिस्काउन्ट’ (सार्वजनिक गर्दाको छुट) स्वरूप ८,००० वा १०,००० युआन छुटको व्यवस्था गरिएको छ।

यो मोडलको प्रि-सेल्स गत अगस्टमा छेङदु अटो शोमा सुरु भएको थियो, जसमा १,१९,९०० युआनदेखि १,३९,९०० युआनसम्मका तीनओटा भेरियन्टहरू समावेश थिए। यस नयाँ लन्चसँगै ‘एन्ट्री-लेभल’को ‘५४० प्रो’ र ‘लङ-रेन्ज’को ‘६५० म्याक्स’ थपिएका छन्।

नयाँ ‘एन्ट्री-लेभल’ भेरियन्ट र सीमित अवधिको छुटले ‘आयनिक भी’ को सुरुवाती मूल्यलाई यसको प्रि-सेल्स सुरुवाती मूल्यभन्दा २०,००० युआनले कम बनाएको छ।

यस वर्ष चीनमा ‘आयोनिक’ ब्रान्ड सार्वजनिक गरेयता ‘आयोनिक’ हुन्डाईको पहिलो उत्पादन मोडल हो। यसको प्रदर्शनले उक्त मुलुकमा दक्षिण कोरियाली अटो निर्माता कम्पनीको विद्युतीकरणसम्बन्धी परिमार्जित रणनीतिको परीक्षण गर्नेछ।

ई-जीएमपीमा आधारित यो मोडलमा १४० किलोवाट (१८८ हर्सपावर) र १६८ किलोवाटको अधिकतम क्षमता भएका सिंगल-मोटर संस्करणहरू उपलब्ध छन् भने यसले ८०० भोल्टको फास्ट चार्जिङलाई पनि समर्थन गर्छ।

यसमा सीएटीएलद्वारा निर्मित लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीहरू प्रयोग गरिएका छन्, जुन ५३.४८ किलोवाट आवर र ६६.८५ किलोवाट आवर क्षमतामा उपलब्ध छन्। यसको सीएलटीसी रेन्ज ५४० किलोमिटर र ६५० किलोमिटर रहेको छ।

यस सेडानका प्राविधिक विशेषताहरूले हुन्डाईले चीनको आपूर्ति शृङ्खलाको बढ्दो प्रयोग गरिरहेको कुरालाई झल्काउँछन्। यसको क्याबिनमा २७ इन्चको फोरके स्क्रिन र क्वालकम स्न्यापड्रागन ८२९पी चिप जडान गरिएको छ, साथै यसमा ‘हेड-अप डिस्प्ले’ को सुविधा पनि उपलब्ध छ।

यस इन्फोटेनमेन्ट प्रणालीमा बाईदूको ‘एर्नी बोट’ र बाईटडान्सको ‘दौउबाओ’ लगायतका एआई मोडेलहरू समावेश गरिएका छन्।

चालकलाई सहयोग पुर्याउन, आयोनिक भीले मोमेन्टासँगको सहकार्यमा विकास गरिएको एल २ प्लस  प्रणाली उपलब्ध गराउँछ।

प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार