एप्पल पेले एक्सिस बैंकसँगको साझेदारीमा भारतमा सुरु गर्यो सेवा

  • Technology Khabar | १६ आश्विन २०८३, शुक्रबार
एप्पल पेले एक्सिस बैंकसँगको साझेदारीमा भारतमा सुरु गर्यो सेवा
फाइल तस्बिर

काठमाडौं ।

एप्पल पेले एक्सिस बैंकसँगको साझेदारीमा भारतमा सेवा सुरु गरेको छ। विश्वकै ठूलो डिजिटल भुक्तानी बजारमध्ये एक भारतमा यो भुक्तानी सेवाको पहिलो प्रवेश भएको एक्सिस बैंकले जनाएको छ।

भारतको तेस्रो ठूलो निजी बैंक एक्सिस बैंक एप्पल पे उपलब्ध गराउने पहिलो भारतीय बैंक बनेको छ। सुरुमा भिसा र मास्टरकार्ड नेटवर्कमा रहेका क्रेडिट कार्ड प्रयोगकर्ताले एप्पल पे सेवा प्रयोग गर्न सक्नेछन्।

भारतको आफ्नै रुपे नेटवर्कका कार्ड भने एप्पल पेका लागि योग्य हुने छैनन्।

“भारतमा गतिशील र डिजिटल प्रविधिमा दक्ष जनसंख्या छ, जसले नगदरहित भविष्यलाई निरन्तर अपनाइरहेको छ। साथै, उनीहरूले सुरक्षा र गोपनीयताको उच्च मापदण्डको अपेक्षा गर्छन्। आज भारतका प्रयोगकर्तामाझ एप्पल पे ल्याउन पाउँदा हामी निकै उत्साहित छौं,” एप्पल पे तथा एप्पल वालेटकी उपाध्यक्ष जेनिफर बेलीले विज्ञप्तिमा भनेकी छन्।

भारतको केन्द्रीय बैंकको तथ्याङ्क अनुसार अगस्टसम्म एक्सिस बैंकका १ करोड ६३ लाख क्रेडिट कार्ड चलनमा थिए। भारतभर चलनमा रहेका १२ करोड ४० लाख क्रेडिट कार्डमध्ये यो संख्या हो। एक्सिस बैंक भारतको चौथो ठूलो क्रेडिट कार्ड जारीकर्ता हो।

रोयटर्सका अनुसार एप्पल पे भारतमा सुरु भएपछि विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देशमा अमेरिकी कम्पनीले आफ्नो भुक्तानी सेवा उपलब्ध गराउन सक्ने भएको छ। भारत एप्पल पे उपलब्ध नभएका केही प्रमुख अर्थतन्त्रमध्ये एक थियो।

एप्पल पेले यसअघि भारतका ठूला बैंक एचडीएफसी बैंक र आईसीआईसीआई बैंकसँग पनि छलफल गरेको थियो। तर, व्यावसायिक सर्तमा सहमति हुन बाँकी रहेको रोयटर्सले यसै महिनाको सुरुमा समाचार प्रकाशित गरेको थियो।

सन् २०२५ को अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रतिवेदनअनुसार भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) ले डिजिटल भुक्तानीको कुल कारोबारमध्ये ८४ प्रतिशत हिस्सा ओगटेको छ। कारोबार संख्याका आधारमा यूपीआई विश्वकै सबैभन्दा ठूलो खुद्रा द्रुत भुक्तानी प्रणाली हो।

बैंकका अनुसार ग्राहकले एक्सिस बैंकको मोबाइल एप वा एप्पल वालेटमार्फत योग्य कार्ड थपेर आईफोन, एप्पल वाच वा आईप्याड प्रयोग गरी पसल, एप तथा अनलाइनमा भुक्तानी गर्न सक्नेछन्।

एप्पल पेबाट कार्डको पिन वा एकपटक प्रयोग हुने पासवर्ड (ओटीपी) नराखी सम्पर्करहित भुक्तानी गर्न सकिन्छ। लेनदेनको प्रमाणीकरण फेस आईडी, टच आईडी वा उपकरणको पासकोडमार्फत गरिन्छ।

प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार