काठमाडौं ।
ह्वाट्सएपले हाल नयाँ नेभिगेसन बार डिजाइनको परिक्षण गरिरहेको छ। यसबारे एपको बिटा भर्जनबाट जानकारी बाहिरिएको हो।
हाल देखिएका डिजाइनहरु सुरुवाति चरणमा रहेकाले अन्तिम डिजाइन यस्तै हुन्छ भन्ने पक्का गरिएको छैन।
प्रकाशित फोटोहरुमा मेटा एआई बटन दुई फरक स्थानमा देखिनुले पनि ह्वाट्सएपले यसको अन्तिम स्थानबारे परीक्षण गरिरहेको संकेत गरेको छ।
टेलिग्राफका अनुसार एउटा कुरा भने लगभग निश्चित देखिएको छ। मेटा एआईलाई नयाँ मेसेज लेख्ने बटनभन्दा माथि रहेको फ्लोटिङ बटनका रुपमा राख्नुको सट्टा नेभिगेसन बारमा समावेश गर्ने तयारी भइरहेको छ।
मेटा एआईको स्थान परिवर्तनसँगै ह्वाट्सएपले नेभिगेसन बारको स्वरुपमा पनि विभिन्न परिवर्तनको परिक्षण गरिरहेको जीएसएमएरिनाले जनाएको छ।
नयाँ नेभिगेसन बार हालको तुलनामा केही बढी अण्डाकार हुनेछ र केही पारदर्शी देखिनेछ। यो डिजाइन ह्वाट्सएपले आईओएस भर्जनमा प्रयोग गरिरहेको डिजाइनसगँ मिल्दोजुल्दो हुनेछ। एन्ड्रोइड भर्जनमा नेभिगेसन बार पूर्ण रुपमा पारदर्शी भने नहुने बताइएको छ।
डार्क मोड प्रयोग गर्ने प्रयोगकर्ताका लागि नयाँ डिजाइनलाई अनुकुल बनाउने अपेक्षा गरिएको छ।
यो डिजाइन ह्वाट्सएपको एन्ड्रोइड बिटा भर्जन २.२६.३८.१० मा देखिएको हो। यो भर्जन हाल बिटा कार्यक्रममा सहभागी प्रयोगकर्ताका लागि उपलब्ध छ।
नयाँ डिजाइनको विकास अझै सुरुवाती चरणमै रहेको छ। त्यसैले ठूलो संख्यामा प्रयोगकर्ताका लागि उपलब्ध गराउनु अघि ह्वाट्सएपले डिजाइनका केही पक्षमा परिवर्तन गर्न सक्नेछ। नयाँ डिजाइन आधिकारिक रुपमा सार्वजनिक हुन अझै केही हप्ता लाग्ने अनुमान छ।
प्रकाशित: १५ आश्विन २०८३, बिहीबार