विश्वव्यापी एआई कारोबारमा पुनः सुधार आउन सक्ने जेपी मोर्गनको भनाइ

  • Technology Khabar | १३ आश्विन २०८३, मंगलवार
विश्वव्यापी एआई कारोबारमा पुनः सुधार आउन सक्ने जेपी मोर्गनको भनाइ

काठमाडौं ।

विश्वव्यापी एआई क्षेत्रमा पछिल्लो समय देखिएको गिरावटले लगानीकर्ताको अवस्था सुधारिएको, मूल्यांकन आकर्षक बनेको र बजारमा पुनः चासो बढ्न सक्ने जेपी मोर्गनका विश्लेषकहरूले बताएका छन्। विशेषगरी सेमिकन्डक्टर कम्पनीका शेयरमा पुनः लगानी बढ्न सक्ने उनीहरूको भनाइ छ।

मिस्लाभ मातेय्काको नेतृत्वमा रहेका जेपी मोर्गनका विश्लेषकहरूले सोमबार जारी गरेको नोटमा प्रविधि क्षेत्र विगतको जस्तो सफलताको स्तरमा नफर्किन सक्ने भए पनि एआई क्षेत्रमा आधारभूत अवस्था सकारात्मक रहेको र यस क्षेत्रमा लगानीका धेरै अवसर रहेको उल्लेख गरेका छन्।

ब्रोकरेजका अनुसार एआई क्षेत्रमा लगानीकर्ताको पोजिसनिङ अहिले पहिलेभन्दा व्यवस्थित भएको छ। अधिकांश क्षेत्रमा कम्पनीको मूल्यांकन उल्लेख्य रूपमा घटेको छ भने एआईमा पूँजीगत खर्चमा सुस्तता आउन सक्ने चिन्ताका बाबजुद खर्च उच्च नै रहने सम्भावना छ।

कम्पनीहरूको आम्दानीमा देखिएको निरन्तर मजबुती र एआईबाट आम्दानी सिर्जना हुन थालेको बढ्दो प्रमाणले यस क्षेत्रमा पुनः लगानीकर्ताको चासो बढाउन सक्ने जेपी मोर्गनले जनाएको छ।

रोयटर्सका अनुसार एआईसँग सम्बन्धित शेयर वर्षको सुरुवातमा बढेका थिए। तर, एआई पूर्वाधारमा भइरहेको ठूलो पूँजीगत खर्च र त्यसबाट तत्काल प्राप्त हुने प्रतिफलका विषयमा चिन्ता बढेपछि ती शेयर कमजोर बनेका छन्।

यसै महिनाको सुरुवातमा शीर्ष एआई कम्पनीका कार्यकारीहरूले एआई प्रविधिको तीव्र विकासबाट उत्पन्न हुन सक्ने जोखिमबारे चेतावनी दिएपछि एआईसँग सम्बन्धित शेयरमा थप गिरावट आएको थियो।

जेपी मोर्गनले कम्पनीहरूको आम्दानीमा देखिएको मजबुती र समग्र आर्थिक वातावरणमा घटेको अस्थिरताका कारण आगामी दिनमा कारोबारमा सुधार आउन सक्ने जनाएको छ।

बैंकले सेमिकन्डक्टर कम्पनीका शेयरप्रति सकारात्मक धारणा कायम राखेको छ। सन् २०२७ सम्म मूल्य बढ्ने सम्भावना, कम्पनीहरूको बलियो आधारभूत अवस्था तथा आपूर्ति र मागबीचको सीमित अवस्थाका कारण सन् २०२८ सम्मै सेमिकन्डक्टर बजारमा यस्तो अवस्था कायम रहन सक्ने जेपी मोर्गनको आकलन छ।

तर, सफ्टवेयर क्षेत्रप्रति जेपी मोर्गन अझै सावधान छ। एआईको तीव्र विकास र बढ्दो प्रतिस्पर्धाले सफ्टवेयर क्षेत्रको दीर्घकालीन अवस्थालाई अनिश्चित बनाइरहेको बैंकले जनाएको छ।

“सफ्टवेयरको मूल्यांकनमा ठूलो गिरावट आइसकेकाले यस क्षेत्रमा सिधै ‘सर्ट’ कारोबार गर्नु उपयुक्त हुँदैन। तर, सेमिकन्डक्टर र सफ्टवेयरबीचको जोडी कारोबारमा पुनः प्रवेश गर्न सकिन्छ,” जेपी मोर्गनले भनेको छ।

विश्वव्यापी सेमिकन्डक्टर तथा सेमिकन्डक्टर उपकरण कम्पनीका शेयरको प्रदर्शन मापन गर्ने एमएससीआई वर्ल्ड सेमिकन्डक्टर्स एन्ड सेमिकन्डक्टर इक्विपमेन्ट इन्डेक्स यस वर्ष हालसम्म करिब ४८ प्रतिशत बढेको छ। यसको तुलनामा एमएससीआई वर्ल्ड सफ्टवेयर एन्ड सर्भिसेस इन्डेक्स १.३ प्रतिशत मात्रै बढेको छ।

प्रकाशित: १३ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार