काठमाडौं ।
अमेरिका र चीनले ३० अर्ब डलर बराबरका वस्तुमा लाग्ने कर घटाउने र कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी संवाद सुरु गर्ने सहमति गरेका छन्। राष्ट्रपति सी जिनपिङको वासिङ्टन भ्रमणपछि दुवै देशले यस्तो जानकारी दिएका हुन्।
शुक्रबार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार कर कटौती अमेरिकी निर्यातअन्तर्गत कृषि सामग्री, काठ र सौन्दर्य प्रसाधनमा तथा अमेरिकामा आयात हुने साना विद्युतीय उपकरण, खेलौना र सजावटका सामग्रीमा लागू हुनेछ।
सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तीन दिनसम्म चलेको शिखर वार्ता शुक्रबार सकिएको थियो। वार्तामा ठूला सार्वजनिक सम्झौताभन्दा व्यक्तिगत कूटनीतिमा बढी जोड देखिएको थियो। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सी शनिबार बेइजिङ पुगिसकेका छन्।
दुवै पक्षले व्यापार परिषद् स्थापना गर्ने र क्वालालम्पुरमा यसअघि भएका वार्ताका सहमतिलाई निरन्तरता दिने विषयमा पनि सहमति गरेका छन्। चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
रोयटर्सकाअनुसार विश्वका दुई ठूला अर्थतन्त्रले नोभेम्बर १० मा सकिन लागेको व्यापारसम्बन्धी अस्थायी सहमति थप दुई महिना लम्ब्याउने निर्णय गरेपछि पछिल्लो सहमति भएको हो। यसले सम्भावित ठूलो व्यापार सम्झौताका लागि थप समय उपलब्ध गराउने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबार बताएका थिए।
“यो ऐतिहासिक भ्रमणले रचनात्मक र स्थिर चीन–अमेरिका सम्बन्धलाई थप बलियो बनाएको छ, द्विपक्षीय सम्बन्धको समग्र स्थिरता कायम राखेको छ, चीन–अमेरिका सम्बन्धमा नयाँ अध्याय खोलेको छ र विश्व शान्ति तथा विकासमा दीर्घकालीन प्रभाव पार्नेछ,” चिनियाँ विदेशमन्त्री वाङ यीले विज्ञप्तिमा भनेका छन्।
एआईसम्बन्धी संवाद
कृत्रिम बुद्धिमताको विषयमा दुवै देशले यस प्रविधिका जोखिम र फाइदाबारे संवाद गर्ने सहमति गरेका छन्। अर्को चरणको वार्ता नोभेम्बरमा हुने तथा एआईसँग सम्बन्धित घटनाबारे जानकारी आदानप्रदान गर्न छुट्टै सञ्चार माध्यम स्थापना गर्ने सहमति भएको चिनियाँ विदेश मन्त्रालय र ह्वाइट हाउसले जनाएका छन्।
ह्वाइट हाउसका अनुसार दुवै नेताले ‘आर्टिफिसियल इन्टेलिजेन्स’को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्ने सहमति गरेका छन्।
चिनियाँ विदेश मन्त्रालयले छुट्टै विज्ञप्तिमा वासिङ्टनले नयाँ शब्द प्रयोग गरेको विषयलाई बेइजिङले महत्त्व दिएको जनाएको छ।
एआई प्रविधि निरन्तर विकास भइरहेकाले दुवै पक्षले नयाँ विकासक्रमअनुसार आपसी आदानप्रदान बढाउँदै साझा सहमतितर्फ अघि बढ्नुपर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
दुवै देशले एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का नेताहरूको बैठक र जी–२० शिखर सम्मेलन आयोजना गर्दा एकअर्कालाई सहयोग गर्ने विषयमा पनि सहमति गरेका छन्। दुवै नेताले अर्को देशले आयोजना गर्ने बैठकमा सहभागी हुने योजना बनाएका छन्।
विदेश नीतिका विषयमा दुवै नेताले इरानले आणविक हतियार विकास नगर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्नेमा सहमति जनाएका छन्। साथै, कुनै पनि देश वा संस्थाले अन्तर्राष्ट्रिय जलमार्गमा आवतजावत शुल्क लगाउन नहुनेमा पनि दुवै देश सहमत भएका छन्।
प्रकाशित: १२ आश्विन २०८३, सोमबार