काठमाडौं ।
बेलायतमा फाइभजी नेटवर्क कभरेजका हिसाबले भोडाफोन आफ्ना प्रतिस्पर्धीभन्दा पछाडि रहेको छ। केही अवस्थामा अन्य कम्पनीको तुलनामा भोडाफोनको कभरेज निकै कम रहेको पाइएको छ।
नेटवर्कको कार्यसम्पादन मापन गर्ने कम्पनी एनपर्फले यसै साता सार्वजनिक गरेको बेलायतको मोबाइल नेटवर्क कभरेजसम्बन्धी पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो।
बेलायतका चारवटै नेटवर्क सञ्चालकबीच फोरजी नेटवर्क कभरेजमा खासै ठूलो अन्तर छैन। तर फाइभजी कभरेजमा भने उल्लेखनीय भिन्नता देखिएको छ। यसमा भोडाफोनको अवस्था राम्रो छैन।
एनपर्फले भनेको छ, “सन् २०२६ मा बेलायतमा ईईका ग्राहकले सबैभन्दा राम्रो फाइभजी कभरेजको सुविधा पाए।” कम्पनीले सन् २०२५ सेप्टेम्बरको सुरुदेखि यस वर्षको अगस्ट अन्त्यसम्मको तथ्यांकलाई आधार बनाएको छ।
टेलिकम्स डटकमका अनुसार ईईको भौगोलिक कभरेज ६८.६९ प्रतिशत र जनसंख्याका आधारमा कभरेज ८५.३५ प्रतिशत रहेको छ। यसका आधारमा कम्पनीले समग्र कभरेजमा ७७ प्रतिशतभन्दा बढी अर्थात् ठ्याक्कै ७७.०२ प्रतिशत अंक प्राप्त गरेको छ।
यो नतिजा ईईका प्रतिस्पर्धीभन्दा निकै अगाडि छ। विशेषगरी सबैभन्दा पछाडि रहेको भोडाफोनको समग्र कभरेज अंक ३७.४७ प्रतिशत मात्रै छ। यो ईईको कभरेजको आधाभन्दा पनि कम हो। कुनै पनि श्रेणीमा ४० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने भोडाफोन एक्लो कम्पनी हो। यसको भौगोलिक कभरेज २८.५६ प्रतिशत मात्रै रहेको छ।
फाइभजी कभरेजमा ओटू दोस्रो स्थानमा रहेको छ। एनपर्फको तथ्यांकअनुसार यसको कभरेज अंक ५८.७३ प्रतिशत छ। यद्यपि यो ईईभन्दा निकै पछाडि छ। थ्री तेस्रो स्थानमा रहेको छ। यसको कभरेज अंक ४९.५६ प्रतिशत छ।
थ्रीसँगको एकीकरणपछि भोडाफोनले मर्ज भएको कम्पनीको सम्पूर्ण स्वामित्व आफ्नो हातमा लिएको छ। यसै गर्मीयाममा कम्पनीले थ्रीको पूर्वमालिक सीके हचिसनको बाँकी स्वामित्व पनि खरिद गरेको थियो। त्यसयता कम्पनीले आफ्नो नेटवर्कको क्षमताबारे जोड दिँदै आएको छ।
कम्पनीले गत मे महिनामा दुई नेटवर्कको एकीकरण पूरा भएको घोषणा गरेको थियो। साथै आगामी वर्षहरूमा नेटवर्क स्तरोन्नतिका लागि ११ अर्ब पाउन्ड लगानी गर्ने योजनाबारे पनि प्रचार गर्दै आएको छ।
मर्ज भएको कम्पनीले आफूलाई ‘द नेसन्स नेटवर्क’ अर्थात् राष्ट्रको नेटवर्कका रूपमा प्रस्तुत गर्दै आएको छ। यस वर्षको जुनमा कम्पनीले आफूलाई ‘राष्ट्रकै सबैभन्दा ठूलो नेटवर्क’का रूपमा स्थापित गर्ने उद्देश्यसहित अहिलेसम्मकै ठूलो ब्रान्ड अभियान सुरु गरेको घोषणा गरेको थियो।
तर यहाँ ‘सबैभन्दा ठूलो’ भन्नाले फाइभजी कभरेजलाई भने नजनाउने टेलिकम्स डटकमले उल्लेख गरेको छ।
एनपर्फले आफ्नो नेटवर्क मापनको नतिजाबारे विस्तृत टिप्पणी गरेको छैन। विशेषगरी व्यक्तिगत नेटवर्क सञ्चालकको अवस्थाबारे कम्पनीले कुनै विस्तृत विश्लेषण सार्वजनिक पनि गरेको छैन।
एनपर्फका प्रमुख कार्यकारी अधिकृत सेबास्टियन डी रोस्बोले भने, “यो प्रतिवेदनले बेलायतमा मोबाइल कभरेज तीव्र गतिमा विस्तार भइरहेको पुष्टि गर्छ। यद्यपि नेटवर्क सञ्चालक र क्षेत्रहरूबीच विशेषगरी फाइभजी कभरेजमा अझै पनि उल्लेखनीय अन्तर छ।”
एनपर्फका अनुसार बेलायतका क्षेत्रमध्ये उत्तरी आयरल्यान्डमा सबैभन्दा राम्रो फाइभजी कभरेज रहेको छ। त्यहाँ कभरेज ४८.२ प्रतिशत छ। त्यसपछि स्कटल्यान्डमा ४२.६ प्रतिशत र वेल्समा ४०.३ प्रतिशत कभरेज रहेको छ। कम्पनीले इंग्ल्यान्डको छुट्टै तथ्यांक भने सार्वजनिक गरेको छैन।
उत्तरी आयरल्यान्डबाहेक सबै क्षेत्रमा ईईको फाइभजी कभरेज सबैभन्दा राम्रो रहेको छ। उत्तरी आयरल्यान्डमा भने ओ२ पहिलो स्थानमा छ। भोडाफोन सबै क्षेत्रमा चौथो स्थानमा रहेको छ। वेल्समा भने यसले थ्रीलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेको छ।
फोरजी कभरेजको सूचीमा पनि भोडाफोन चौथो स्थानमा रहेको छ। तर यहाँ कम्पनीहरूबीचको अन्तर भने निकै कम छ। ईई ९६.५ प्रतिशत समग्र ४जी कभरेजसहित पहिलो स्थानमा रहेको छ। सबैभन्दा पछाडि रहेको भोडाफोनको कभरेज ९२.४ प्रतिशत छ। ओ२ र थ्री दुवैको कभरेज करिब ९४ प्रतिशत रहेको छ।
तथ्यांकलाई जुनसुकै तरिकाले विश्लेषण गरे पनि भोडाफोनले आफ्नो नेटवर्कको उपलब्धिबारे प्रचार गर्न कठिन हुने देखिन्छ। ‘द नेसन्स नेटवर्क’का लागि यो नतिजा उत्साहजनक छैन।
प्रकाशित: १२ आश्विन २०८३, सोमबार