काठमाडौं ।
सन् २०३३ देखि सिक्सजी सेलुलर नेटवर्कको पहुँच विश्वव्यापी स्तरमा विस्तार हुन थाल्ने जीएसएमए इन्टेलिजेन्सको मोबाइल प्रविधिसम्बन्धी पछिल्लो पूर्वानुमान गरेको छ।
सन् २०३० को अन्त्यतिर यसको सुरुवात हुने अनुमान गरिएको छ, जतिबेला विश्वभर ५ करोड कनेक्सनहरू हुनेछन् र यो संख्या विश्वका कुल मोबाइल प्रयोगकर्ताहरूको करिब शुन्य दशमलब ५ प्रतिशत हो।
सन् २०३१ को अन्त्यसम्ममा यसको प्रयोगकर्ता संख्या करिब २७ करोड ७५ लाख र सन् २०३२ मा ७४ करोड पुग्न सक्ने अनुमान छ।
त्यसपछि, सन् २०३३ मा यो संख्या १ अर्बको सीमा पार गर्दै करिब १ अर्ब ३० करोड कनेक्सनमा पुग्नेछ।
जीएसएमए इन्टेलिजेन्सका अनुसार, पहिलो सिक्सजी चक्र दुई चरणमा अघि बढ्नेछ। सन् २०३० देखि २०३२ सम्मको अवधिमा यसको सुरुवात र इकोसिस्टमको विकास हुनेछ। सन् २०३३ देखि भने यो प्रविधि विश्वव्यापी स्तरमा सञ्चालनमा आउन थाल्नेछ।
६जीको विस्तार ५जीको अस्तित्व समाप्त पारेर हुने अपेक्षा गरिएको छैन र सन् २०३५ को अन्त्यसम्ममा विश्वव्यापी मोबाइल कनेक्सनमा ५जीको हिस्सा करिब ६० प्रतिशत हुने अनुमान गरिएको छ भने ६जीको हिस्सा २३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
जीएसएमए इन्टेलिजेन्सका अनुसार, आफ्नो विशाल आकारका कारण विश्वव्यापी ६जी कनेक्सनको संख्यामा चीनको “निस्सन्देह महत्त्वपूर्ण प्रभाव” रहनेछ। सन् २०३५ सम्ममा कुल कनेक्सनमध्ये आधाभन्दा बढी हिस्सा चीनकै हुनेछ।
यद्यपि, यस स्तरको प्रयोगमा पुग्ने चीन एकमात्र देश हुनेछैन; किनकि दशकको मध्यसम्ममा “विश्वका धेरै प्रमुख मोबाइल बजारहरूमा करिब आधा कनेक्सन ६जीमा आधारित हुने” अनुमान गरिएको छ।
जीएसएमए इन्टेलिजेन्समा डेटा मोडलिङ तथा पूर्वानुमान प्रमुख म्याथ्यु इजीले सन् २०३५ को पूर्वानुमानलाई ६जीको अन्तिम बिन्दु नभई एउटा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा हेर्नुपर्ने बताए।
प्रकाशित: ११ आश्विन २०८३, आईतवार