सफ्टवेयर विकास गर्न भन्दै कम्पनी खोलेका चिनियाँ नागरिक पक्राऊ

  • Technology Khabar | ९ आश्विन २०८३, शुक्रबार
सफ्टवेयर विकास गर्न भन्दै कम्पनी खोलेका चिनियाँ नागरिक पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

सूचना प्रविधि (आइटी) क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने अनुमति लिएर नेपाल प्रवेश गरी कानुनले निषेध गरेको खुद्रा व्यापार सञ्चालन गर्दै आएका एक चिनियाँ नागरिक विराटनगरबाट पक्राऊ परेका छन्।

विराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल मलमा सञ्चालित ‘योनो मार्टी बाट बिलविहीन कारोबार गरिरहेको अवस्थामा चिनियाँ नागरिक जिसियान सिएलाई मोरङ प्रहरी र वाणिज्य कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी नागरिकका लागि खुद्रा व्यापार पूर्ण रूपमा निषेध गरेको छ तर सफ्टवेयर विकास गर्ने भन्दै व्यावसायिक भिसा लिएका सिएसहितको समूहले राज्य संयन्त्रलाई नै झुक्याएर अनधिकृत रूपमा खुद्रा व्यापार गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ।

सरकारी कागजपत्रका आधारमा काठमाडौँमा ‘तोङ आइटी ग्रुप प्राइभेट लिमिटेड’ दर्ता गरी वार्षिक २४ वटा सफ्टवेयर प्याकेज उत्पादन गर्ने प्रयोजनका लागि २५ लाख रुपियाँ पुँजीको वैदेशिक लगानी स्वीकृति लिइएको पाइएको छ।

पक्राउ परेका सिएसहित अन्य दुई चिनियाँ साझेदारको लगानी रहेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए। पर्यटक भिसामा नेपाल प्रवेश गरेका सिएले सोही सफ्टवेयर कम्पनी देखाएर बिजनेस भिसा प्राप्त गरेको खुलेको थियो।

सम्झौता अनुसार सफ्टवेयरको कुनै काम नगरी चीनबाट अवैध माध्यममार्फत घरायसी सामग्री आयात गरी खुद्रा पसल सञ्चालन गरिरहेको पाइएको हो।

आजको गोरखापत्रबाट

प्रकाशित: ९ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार