‘फोर्ट स्टेज राइड’ को पूर्वतयारी: हायूगाउँको ऐतिहासिक तथा सांस्कृतिक ‘डिजिटल म्यापिङ’ सम्पन्न

  • Technology Khabar | ८ आश्विन २०८३, बिहीबार
‘फोर्ट स्टेज राइड’ को पूर्वतयारी: हायूगाउँको ऐतिहासिक तथा सांस्कृतिक ‘डिजिटल म्यापिङ’ सम्पन्न

काठमाडौं ।

आगामी डिसेम्बर २०२६ मा आयोजना गर्न लागिएको ३९०.५ किमी लामो ‘फोर्ट स्टेज राइड’ साइकलिङ उत्सव तथा न्यून-कार्बन पर्यटकीय करिडोर निर्माणको पूर्वतयारी स्वरूप स्टोरीसाइकलले सिन्धुली क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक बस्तीहरूको डिजिटल नक्साङ्कन तीव्र बनाएको छ।

विश्व पर्यटन दिवसको अवसर पारेर सञ्चालन भइरहेको यस अभियानअन्तर्गत सुनकोसी गाउँपालिका वडा नम्बर २ स्थित समुद्री सतहबाट १३ सय मिटर उचाइमा रहेको ऐतिहासिक हायूगाउँ को म्यापिङ कार्य सफलताका साथ सम्पन्न भएको छ।

बिपी राजमार्गबाट करिब ९ किलोमिटर उकालोमा रहेको, विशेष गरी स्वादिलो जुनार, सुन्तला र कागतीका लागि प्रख्यात हायूगाउँमा लोपोन्मुख हायू समुदायसँगै नेवार र तामाङ जातिको बसोबास छ।

करीब ३ दर्जन घर रहेको यस बस्तीका सांस्कृतिक सम्पदा, स्थानीय जनजीवन र रैथाने खाद्य चक्र लाई जिओ-ट्याग गरी खुला डेटा प्रणालीमा अभिलेखीकरण गरिएको छ।

अभियानबारे प्रकाश पार्दै स्टोरीसाइकलका निर्देशक एवं टिम लिड सौरभ ढकालले भने, “हामीले ३९०.५ किमी लामो फोर्ट स्टेज राइडलाई केवल एउटा साइकल यात्राका रूपमा मात्र हेरेका छैनौँ। सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई जोड्ने यो करिडोरभित्रका हायूगाउँजस्ता ऐतिहासिक बस्तीहरूको विशिष्ट संस्कृति, रैथाने खानपान र स्थानीय जनजीवनलाई डिजिटल माध्यमबाट विश्वसामु पुर्याउनु हाम्रो मुख्य लक्ष्य हो। स्थानीय युवाहरूलाई डिजिटल प्रविधिसँग जोड्दै, खाद्यान्न ढुवानीबाट हुने कार्बन उत्सर्जन घटाउने र स्थानीय अर्थतन्त्रलाई समृद्ध बनाउने दिशामा यो डिजिटल म्यापिङ एउटा महत्त्वपूर्ण खुड्किलो साबित हुनेछ।”

अभियानअन्तर्गत आगामी शुक्रबार (असोज ९ गते / २५ सेप्टेम्बर) सिन्धुलीमाढीमा स्थानीय होटेल व्यवसायी, युवा तथा सरोकारवालाहरूका लागि न्यून-कार्बन पर्यटन, हरित ऊर्जा अडिट र डिजिटल म्यापिङसम्बन्धी विशेष अन्तर्क्रियात्मक सेसन सञ्चालन गरिनेछ।

सिन्धुलीमाढीको कार्यक्रम सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले संयाेजन गरेकाे छ।

यसैगरी, शनिबार (असोज १० गते / २६ सेप्टेम्बर) टोलीले हरिहरपुरगढी क्षेत्रमा पुगेर हरिहरपुरगढी गाउँपालिकाकाे संयाेजनमा  स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र युवाहरूसँग डिजिटल म्यापिङ तथा हरित आतिथ्य सम्बन्धी छलफल एवं नक्साङ्कन कार्य अगाडि बढाउनेछ।

सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई साइकलमार्फत जोडी ललितपुर निस्किने यस फोर्ट स्टेज राइड करिडोरले स्थानीय रैथाने उत्पादनको प्रवर्द्धन गर्ने, खाद्यान्न ढुवानीबाट हुने कार्बन उत्सर्जन घटाउने र सिन्धुलीका पर्यटकीय बस्तीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: ८ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार