काठमाडौं ।
गुगलले गएको हप्ता एन्ड्रोइड १७ को नयाँ बिटा संस्करण सार्वजनिक गरेको छ। यससँगै गरिएको विस्तृत विश्लेषणमा एन्ड्रोइड प्रयोगकर्ताको समाधान हुन सक्ने नयाँ फिचरको संकेत फेला परेको छ।
एन्ड्रोइडको आगामी संकरणमा प्रयोगकर्ताले आफ्नो फोनको पिन वा पासवर्ड बिर्सिएमा गुगल अकाउन्टको विवरण प्रयोग गरेर फोन अनलक गर्न सकिने सुबिधा उपलब्ध हुन सक्ने देखिएको छ।
यो सुविधा आएमा फ्याक्ट्री रिसेट गनुपर्ने बाध्यता हट्न सक्छ। हाल फ्याक्ट्री रिसेट गर्दा सुरक्षित गरिएका तथा क्लाउडमा ब्याकअप नगरिएका फोटो, फाइल र एपको डाटा मेटिने गर्दछ।
अहिले प्रयोगकर्ताले आफ्नो पिन, पासवर्ड वा अनलक प्याटर्न बिर्सिएमा फोनमा फेरी प्राप्त गर्ने मुख्य उपाय फ्याक्ट्री रिसेट प्रोटेक्सन (एफआरपी) प्रणालिमार्फत फोनको स्वामित्व पुष्टि गर्न गुगल अकाउन्ट प्रयोग गरिन्छ।
टेलिग्राफका अनुसार गुगलले यस अघि पनि यस्तै सुबिधा उपलब्ध गराएको थियो। एन्ड्रोइड ४.४ र त्यस अघिका संस्करणहरुमा प्रयोगकर्ताले गुगल अकाउन्ट प्रयोग गरेर अनलक प्याटर्न रिसेट गर्न सक्थे। तर एन्ड्रोइड ललिपप ५.० मा यो सुबिधा हटाएको थियो।
अब भने एन्ड्रोइडको आगामी संस्करणको ‘कोडमा अनलक उइथ गुगल अकाउन्ट’ अर्थात गुगल अकाउन्टबाट अनलक भन्ने विकल्प फेला परेको छ। यो सुबिधा प्रयोगकर्ताले पिन पासवर्ड र फिङ्गर प्रिन्ट प्रयोग गर्ने डिभाइस अनलक सेक्सनमा समावेश हुन सक्ने अपेक्षा गरिएको छ।
यो सुविधा कहिले बाट उपलब्ध हुन्छ भन्नेबारे अहिले सम्म स्पष्ट जानकारी छैन। एन्ड्रोइड १७ क्यूपीआर२ बिटा ५ संस्करणमा समेत यो सुबिधा सक्रिय गरिएको छैन्। गुगलले पनि यो सुविधा आधिकारिक रुपमा कहिले उपलब्ध गराउने हो वा होइन भन्ने पुष्टि गरेको छैन।-एजेन्सी
प्रकाशित: ८ आश्विन २०८३, बिहीबार