चीनले नेपाललाई हस्तान्तरण गर्यो एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली

  • Technology Khabar | ६ आश्विन २०८३, मंगलवार
चीनले नेपाललाई हस्तान्तरण गर्यो एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली
तस्बिरः नेपालका लागि चिनियाँ राजदुतको एक्स पोस्टबाट।

काठमाडौं ।

चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ।

चीनको मौसम विज्ञान प्रशासन (सीएमए)ले मङ्गलबार जनाएअनुसार, चीन–नेपाल सीमास्थित केरुङ–रसुवा नाकामा गएको घातक पहिरोपछि गत अगस्ट २९ मा नेपालको मौसम विज्ञान विभागलाई माजुको क्लाउड–आधारित परीक्षण संस्करण उपलब्ध गराइएको हो।

सीएमएका अनुसार नेपालका लागि विशेष रूपमा तयार गरिएको माजु संस्करण विकास गर्दा स्थानीय भौगोलिक अवस्था, विपद्का विशेषता, पूर्वाधार तथा उपलब्ध तथ्याङ्कलाई ध्यानमा राखिएको छ।

चीनले पहिरोपछि नेपाललाई मौसम पूर्वानुमान तथा पूर्व–सूचनासम्बन्धी सहयोग उपलब्ध गराएको थियो । विपद् राहत तथा उद्धारकार्यमा सहयोग पुर्याउन उच्च–रिजोल्युसन र द्रुत रूपमा अद्यावधिक हुने मौसम पूर्वानुमान तथा पूर्वसूचना सामग्री उपलब्ध गराइएको सीएमएले जनाएको छ।

सीएमएले उत्तरपश्चिमी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुम्कीमा आयोजित दोस्रो चीन–मध्य एसिया मौसम सहयोग मञ्चमा नेपालका लागि तयार गरिएको माजु संस्करण हस्तान्तरण गरेको हो।

माजु बहु–जोखिम पहिचान, पूर्वसूचना र मौसमसम्बन्धी जोखिम व्यवस्थापनका लागि विकास गरिएको एआईमा आधारित प्रणाली हो । यसको नाम समुद्रकी चिनियाँ संरक्षक देवी ‘माजु’बाट राखिएको हो।

कार्यक्रममा सीएमएले सन् २०२६/२०२७ का लागि मध्य एसियाली देशमा माजु प्रणाली लागू गर्ने योजना पनि सार्वजनिक गरेको छ। यसको उद्देश्य चीन र मध्य एसियाली देशबीच मौसमसम्बन्धी सहयोग विस्तार गर्नुका साथै क्षेत्रीय विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धि गर्नु रहेको जनाइएको छ।

सीएमएका प्रमुख चेन झेन्लिनका अनुसार माजु हाल सात देशमा प्रयोगमा छ भने ५० भन्दाबढी देशमा यसको क्लाउडमा आधारित परीक्षण भइरहेको छ। सीएमएले प्रणालीको अन्तरराष्ट्रिय प्रयोग विस्तार गर्ने योजना बनाएको उनले बताए। रासस/सिन्ह्वा

प्रकाशित: ६ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार