नाडाले बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीहरूलाई सहजीकरण गर्ने

  • Technology Khabar | ७ आश्विन २०८३, बुधबार
नाडाले बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीहरूलाई सहजीकरण गर्ने

काठमाडौं ।

भोटेकोशीमा आएको बाढी तथा विभिन्न क्षेत्रमा भएको डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीहरूलाई आवश्यक सहजीकरण गर्न नाडा एशोसिएसन अफ नेपाल (नाडा)ले पहल गर्न सुरु गरेको छ।

बाढीका कारण आयातित सवारीसाधनमा क्षति पुगेको, धेरै सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको भन्दै नाडाले प्रभावित व्यवसायीको क्षति संकलन गर्न लागेको हो।

नाडाले बाढबाट प्रभावित भएका व्यवसायीहरुलाई बाढी तथा डुबानबाट क्षति भएका,हराएका वा सम्पर्कविहीन सवारीसाधनको विवरण, सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाकाको विवरण, सवारीसाधनको संख्या, प्रकार तथा उपलब्ध पहिचान विवरण, गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विवरण, बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनको विवरण, बीमा दाबीका लागि आवश्यक कागजात तथा विवरण, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण, अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरण पेश गर्न आग्रह गरेको छ।

नाडाले प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहजीकरण गरि सम्बन्धित बीमा कम्पनीसँग समन्वय गर्ने र भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गर्ने जनाएको छ।

प्रभावित व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित सहजीकरणका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।

सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष अटोमोबाइल क्षेत्रले व्यहोरेको क्षतिको समग्र विवरण प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने जानकारी दिएको छ।

प्रकाशित: ७ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार