टीएमएसको डाटा सेन्टरमा देखिएको समस्या आज नै समाधान हुनेमा आशावादी छौंः नेप्से

  • Technology Khabar | ५ आश्विन २०८३, सोमबार
टीएमएसको डाटा सेन्टरमा देखिएको समस्या आज नै समाधान हुनेमा आशावादी छौंः नेप्से

काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्य कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्राइभेट लिमिटेडको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण सोमबारको कारोबार बन्द रह्यो।

आश्विन ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भएतापनि हालसम्म समाधान भैनसकेको र यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले आजको नियमित कारोबार सत्रलाई स्थगन गरिदिन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत निवेदन दिएको थियो।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आजको कारोबार स्थगित गरे थियो।

नेप्सेका सूचना अधिकारी मुरारी पराजुलीले डाटाहबको डाटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण भएको र समस्या समाधानका लागि काम भइरहेको बताए। उनले भने, ‘डाटा सेन्टरको समस्या समाधान भएपछि कारोबार सञ्चालन हुनेछ। समस्या आज नै समाधान हुनेमा आशावादी छौं।’

भोलि पनि यस्तै स्थिति रहेमा कारोबार हुन्छ कि हुँदैन भन्ने टेक्नोलोजीखबरको जिज्ञासामा उनले भने, ‘आज अझै समय छ, समस्या समाधानको प्रयास जारी छ। आशा गरौं भोलि स्थिति सामान्य होला।’

टीएमएस व्यवस्थापन गर्ने डाटा हबले पनि हमलाबारे पुष्टि गरेको छ उक्त कम्पनी नेप्सेले भने झैं समस्या समाधान हुनेमा भन्ने स्पष्ट देखिएको छैन।

आक्रमण २० सेप्टेम्बर अर्थात् हिजो बिहान करिब साढे ५ बजे भएको टीएमएस व्यवस्थापक कम्पनी डाटा हबका सहायक महाप्रबन्धक नविन मुनी बज्राचार्यले पत्रमार्फत् यस्तो बताएका हुन्।

टेक्नोलोजीखबरले प्राप्त गरेको उक्त कम्पनीले आफ्नो कुनै सेवाग्राहीलाई लेखेको पत्रमा घटनाभन्दा अघि २० सेप्टेम्बर बिहान करिब ४ बजे सम्पूर्ण पूर्वाधारको ब्याकअप लिइएको थियो। उक्त ब्याकअपलाई सुरक्षित गरी अलग राखिएको जनाइएको छ।

र्यान्समवेयर अन्य जोडिएका नेटवर्क तथा प्रणालीमा समेत फैलिएको वा असर गरेको हुन सक्ने भएकाले प्रभावित प्रणालीलाई अझै अनलाइनमा ल्याइएको छैन।

घटनाको प्रभावको मूल्याङ्कन तथा आवश्यक सुरक्षा र पुनःस्थापनाका काम भइरहेका कारण प्रणालीलाई सावधानीस्वरूप अलग राखिएको पत्रमा उल्लेख छ।

टीएमएस नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पूर्वाधार तथा अन्य सम्बन्धित प्रणालीसँग जोडिएको जनाउँदै प्रणाली पुनः सञ्चालनमा ल्याउनुअघि फोरेन्सिक विश्लेषण र सुधारात्मक सुरक्षा उपाय पूरा गर्न समय मागिएको छ। साथै, सम्बन्धित अन्य जोडिएका संस्थालाई समेत यसबारे जानकारी गराउन अनुरोध गरिएको छ।

अनुसन्धान तथा मूल्याङ्कन पूरा भएपछि थप जानकारी उपलब्ध गराइने जनाइएको छ। प्रणाली सकेसम्म चाँडो पुनःस्थापना गर्ने प्रयास भइरहेको सम्बन्धित पक्षले जनाएको छ।

हेडलाइन सम्पादन- सम्पादक

प्रकाशित: ५ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार