काठमाडौं ।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) को पूर्व अध्यक्ष सुरेश कुमार कर्णलाई इजराइलका लागि राजदूत पदका लागि सिफारिस गरिएको छ।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि कर्णसहितलाई सिफारिस गरेको हो।
मन्त्रिपरिषद्को आज बसेको बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
जसमा भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको छ।
सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूलाई संसदीय सुनुवाइका लागि पठाइने छ। संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ।
अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्ने छन्।
कर्ण सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीतिका क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका व्यक्ति हुन्।
उनी लगातार दुई कार्यकाल सन् २००८ देखि २०१२ सम्म कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को अध्यक्ष भएका थिए। हाल उनी क्यान महासंघको प्रेसिडेन्ट काउन्सिलको सदस्य छन्।
कुमारी बैंकमा सन् २००३ देखि २०१५ सम्म प्रमुख सूचना तथा मार्केटिङ अधिकृतका रूपमा काम गर्दा उनले ‘कुमारी मोबाइल क्यास’ को अवधारणा विकास गरी सञ्चालनमा ल्याएका थिए।
यस्तै उनले नेपाल बैंक लिमिटेडमा प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गर्दै बैंकलाई एकिकृत कोर बैंकिङ प्रणालीमा रूपान्तरण गर्ने प्रक्रियाको नेतृत्व गरेका थिए।
सन् २०२४ देखि उनी Kumo Labs प्रालिका अध्यक्ष छन्। यो FDI तथा Technology Transfer Act 2019 अन्तर्गत जापानी लगानीमा स्थापना भएको नेपालको पहिलो प्रत्यक्ष विदेशी लगानीमा आधारित प्रविधि उद्यम भएको उल्लेख गरिएको छ।
कर्ण नेपाल सरकारको आइटी काउन्सिल तथा सूचना प्रविधिसम्बन्धी उच्चस्तरीय आयोगका पदेन सदस्य पनि रहेका थिए। नेपालमा पहिलो राष्ट्रिय सूचना प्रविधि नीति (२०००) निर्माणमा समेत उनको भूमिका थियो।
उनले बेइजिङ नर्मल युनिभर्सिटीको बेल्ट एन्ड रोड स्कुलबाट अन्तर्राष्ट्रिय व्यापार, लगानी तथा पूर्वाधार अर्थशास्त्रमा एमबीए गरेका छन्। उनी इन्स्टिच्युसन अफ इन्जिनियर्स (इन्डिया) का फेलो पनि हुन्।
उनले सन् २०१९ मा राष्ट्रिय आईसीटी उत्कृष्टता पुरस्कार प्राप्त गरेका थिए।
प्रकाशित: २ आश्विन २०८३, शुक्रबार